कोरोना भाइरसबाट बच्न यसो गरौं- इक्यान अध्यक्ष प्रकाश पाण्डे



प्रकाश पाण्डे, अध्यक्ष नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

यतिबेला मुलुक कोरोना भाइरसको संक्रमणको त्रासमा लकडाउन छ । सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ भने मानिसलाई घरबाहिर ननिस्कन र अनुमति बिना सवारी साधन समेत नचलाउन निर्देशन दिइसकेको छ ।

यस्तो अवस्था सरकारको यो निर्देशनलाई पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो । साथै, जिम्मेवारी पनि हो । त्यसैले यसलाई पालना गर्नुपर्छ र घरमै बसेर संक्रमणको जोखिमलाई रोकथाम तथा न्यूनिकरणका लागि प्रयास गर्नुपर्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले ल्याइएको यो निकै त्रासदीपूर्ण अवस्था हो । यस्तो अवस्थामा हामीले सबै आ–आफ्नो ढंगले जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ ।

यसमा सबैभन्दा सजिलो उपाय भनेको आफू घरमै बसेर सुरक्षित हुनु हो । त्यसैले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सरकारको निर्देशनसँगै बिहीबारदेखि नै सबै संस्था बन्द गरिसकेका छौं ।

यस्तो अवस्थामा अत्यावश्यक काम घरबाटै गर्नका लागि हामीले निर्देशन दिइसकेका छौं भने सम्पूर्ण सेवा बन्द भएकाले सेवाप्रवाहमा समस्या उत्पन्न भएको हामीले पाएका छौं ।

अहिले नेपालमा २ हजारदेखि २५ सयसम्मको हाराहारीमा शैक्षिक परामर्श संस्था सञ्चालनमा छन् । जसमध्ये १४७३ वटा संस्था दर्ता भएका छन् भने ७ सयभन्दा बढी दर्ताको प्रक्रियामै छन् ।

यस्तो अवस्था सबै संस्था बन्द हुँदा यसले २५ हजारभन्दा बढी मानिसहरु प्रभावित भएाक छन् भने रोजगारीमा पनि समस्या आउने देखिएको छ । यदी लामो समयसम्म यसको प्रभाव कायमै रहने भने समस्या आउने देखिएको छ । तर अहिलेको समयमा आफू बच्दै अरुलाई पनि बचाउनु पर्ने भएकाले त्यसलाई ध्यान दिनु उपयुक्त हुन्छ ।

त्यसैले सकेसम्म घरबाहिर ननिस्कौं, संक्रमणको जोमिख कम गर्नका लागि साबुन पानीको प्रयोग गरी हात धुनुपर्छ । साथै सेनिटाइजरको प्रयोग र अत्यावश्यक काममा बाहिर निस्कनै परे मास्क लगाएर मात्रै निस्कने काम गरौं । आफू स्वस्थ भए मात्रै सबै स्वस्थ हुने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ । आफू बिरामी भइयो भने आफ्ना कारणले अरुलाई पनि बिरामी बनाउने सम्भवना रहन्छ ।

साथै कसैलाई रुघा, खोकी, ज्वरो आएको छ भने र कोरोना भाइरसको संक्रमण देखिएको शंका लागेमा फोनमार्फत सम्पर्क गरी नजिकको स्वास्थ्य संस्थामा जाऔं । यसका लागि सरकारले उपलब्ध गराएको हटलाइन नम्बरमा सम्पर्क गरी पनि जानकारी लिन सकिन्छ ।

बाहिर गएर आएपछि घरभित्र पस्नु अगाडि पनि सेनिटाइजरको प्रयोग गरौं । कोरोना भाइरस हावामा ३ घण्टासम्म जीवित रहन सक्छ भने तामाका भाडामा ४ घण्टासम्म रहन्छ । साथै प्याकिङ हुने बक्सहरुमा २४ घण्टा, स्टिलमा २ देखि ३ दिनसम्म र प्लास्टिकमा ३ दिनसम्म रहने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ ।


क्लिकमान्डु