क्वारेन्टाइन व्यवस्थापन मापदन्ड स्वीकृत
काठमाडौं । नोभल कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरेको छ ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (कोभिड–१९०) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ स्वीकृत गरेको हो ।
मन्त्री भट्टराईको संयोजकत्वमा रहेको कार्यदलले सोमबार बिहान मन्त्रालयमा बैठक बसेर क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६लाई अन्तिम रुप दिएको थियो ।
समितिमा गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, चारै वटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेका थिए ।
समितिको आज (सोमबार) बसेको बैठकले कोरोना भाइरससँग सम्बन्धित क्वारेन्टाइनमा राखिने व्यक्ति, पालना गर्नुपर्ने विधि, हुनुपर्ने पूर्वाधार, त्यहाँ सेवारत रहनुपर्ने चिकित्सक र गर्नुपर्ने सबै सुरक्षित उपाय अपनाउने गरी काम गर्न उक्त मापदण्ड स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
८ चैत २०७६ मा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले समितिको बैठकले भट्टराई को संयोजकत्वमा क्वारेन्टाइन केन्द्र व्यवस्थापनको लागि समिति बनाएको थियो ।