एक्कासी हवाई भाडा बढाएकोमा विरोध भएपछि विमान कम्पनीहरु भाडा घटाउन तयार
काठमाडौं । एक्कासी हवाई भाडा बढाएकोमा चर्को विरोध भएसँगै विमान कम्पनीहरु भाडा घटाउन तयार भएका छन् ।
शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले यस विषयमा कुरा गर्न विमान कम्पनीका सञ्चालकसँग छलफल गरेका थिए । जसमा मन्त्री भट्टराईले यस्तो अवस्थामा भाडा नबढाउन आग्रह गरेका थिए ।
‘मन्त्रीज्यूले तपाईहरु तोकिएको सीमाभित्रै रहेर भाडा लिनु भएको छ, तर २ दिन अगाडि सस्तोमा बिक्री गरिरहेको टिकट एक्कासी बढाउनु ठीक भएन भन्नुभयो,’ मन्त्री भट्टराईलाई उधृत गर्रै वायुसेवा सञ्चालक संघका महासचिव योगराज कडेँलले क्लिकमान्डूसँग भने ।
उनका अनुसार भोलिदेखि सरकारले तोकेको भाडाको अधिकतम सीमा आगामी अप्रिल ३ तारिखसम्मका लागि घटाइनेछ । तर अहिले नै कति प्रतिशत वा रकम घटाउने हो भोलि मात्रै निर्णय हुने उनले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकालले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं छाड्ने यात्रु बढेका छन् । जसले गर्दा हवाई कम्पनीहरुले अहिले महंगो दरका टिकट मात्रै बिक्री गर्दै आएका छन् ।
२/३ दिन अघिसम्म यात्रु नभएर बसको भाडाभन्दा सस्तो दरका टिकट बिक्री गरिरहेका विमान कम्पनीहरुले सरकारको निर्णयसँगै भाडा बढाएको थिए ।
जसलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध समेत भइरहेको छ ।