सहकारीले कोरोना भाइरसबाट बच्ने उपायबारे सदस्यलाई सचेतना गर्नुपर्छः सचिव न्यौपाने



काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले कोरोना भाइरसको सचेतनाका लागि सहकारी संस्थाहरुले काम गर्न आवश्यक रहेको बताएका छन् ।

अब सहकारी संस्थाहरुले कोरोना भाइरसको विषयमा आफ्ना सदस्यहरुलाई जानकारी गराउने मात्र नभएर आवश्यक परेको खण्डमा उनीहरुलाई क्वारेन्टानको व्यवस्था समेत गर्न आवश्यक भएको बताए ।

सबै सहकारी संस्थाहरुले आफ्नो सदस्यहरुलाई यदि यो खालको समस्या देखिएमा क्यारेन्टाइनमा राखेको खण्डमा राज्यलाई पनि सहयोग हुने उनको तर्क छ । यो सहकारी संस्थाहरुको सामाजिक दायित्व पनि भएको सचिव न्यौपानेको भनाइ छ ।

सहकारी पत्रकार समाजसँगको भेटका क्रममा उनले अहिलेको लागि सहकारी संस्थाहरुले आफ्नो सदस्यालाई यो भाइरसको बारेमा जनचेतना फैलाउने, माक्स, स्यानिटाइजर वितरण गर्ने कार्यमा लाग्न आग्रह गरेका छन् ।

फरक प्रसंगमा उनले सहकारी संस्थाहरु फाइनान्स कम्पनी जस्ता हुन नहुने तर्क गरे । सहकारीबाट देश विकासमा सहयोग पुग्ने, सुखि नेपाली समृद्ध नेपाल निर्माणमा पनि सहयोग पुग्ने भएको भन्दै सहकारीले आफ्नो मूल्य मान्यता भन्दा बाहिर गएर काम गर्न नहुने उनको तर्क छ ।

अहिले सहकारी हिँडेर गाँउमा जाने भन्दा पनि गाडी चढेर सहरमा मात्रै जाने क्रमले गर्दा अपेक्षा अनुसार काम हुन नसकेको उनको बुझाइ छ ।


क्लिकमान्डु