कोरोनाको त्रासले ३ दिनमा ३ लाखले उपत्यका छाडे
काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि सरकारले सम्पूर्ण शैक्षिक संस्थालगायतका अत्यावश्यक सेवामा रोक लगाएसँगै राजधानी छाड्ने मानिसहरुको संख्या ह्वात्तै बढेको छ ।
चैत ५ गतेसम्म उपत्यका भित्रने र बाहिरिने यात्रुको संख्या सामान्य भए पनि चैत ६ गते भने उपत्यका भित्रनेको संख्या घट्न थालेको छ भने उपत्यका छाड्नेको संख्या बढ्न थालेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार चैत ६ गते उपत्यका भित्रनेको संख्या ८३ हजार १३९ रहेकोमा बाहिरिनेको संख्या १ लाख ८ हजार ४५८ जना छ । जबकी चैत ५ गतेको तथ्यांक हेर्दा भित्रनेको संख्या ९८ हजार ९३४ र बाहिरिनेको संख्या १७ हजार ४४१ छ ।
त्यस्तै, चैत ४ गते भित्रने ९० हजार २३० जना थिए भने बाहिरिने संख्या ९१ हजार ८१६ छ । यसरी २ दिनमै १६ हजार ६४२ जना बढीले काठमाडौं छाडेका छन् । त्यस्तै भित्रनेको तथ्यांक हेर्दा २ दिनमा ७ हजार ९१ जना कम मानिसहरु काठमाडौं प्रवेश गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको त्रास बढेसँगै उपत्यकाबाट यात्रुहरु बाहिरिने क्रम बढेको ढकालको भनाइ छ ।
सरकारले मानिसहरुको भीड हुने स्थानहरु सम्पूर्ण शैक्षिक संस्था, सिनेमा हल, क्लब, स्वीमिङ पुललगायतका स्थानहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरेसँगै काठमाडौं छाड्नेहरुको संख्या बढेको हो ।
साथै चैत ६ गतेदेखि हुने तय भएको एसईई परीक्षा स्थगित हुनुका साथै त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयले लिने भनेको परीक्षा र लोकसेवा आयोगका सम्पूर्ण परीक्षा स्थगित भएसँगै काठमाडौं छाडेर घर फर्कनेको संख्या बढेको हो ।
राजधानीबाट बाहिरिने संख्या बढेसँगै नयाँ बसपार्कमा अहिले टिकटका लागि भीड देखिन थालेको छ भने हवाई यात्रुहरु बढेसँगै विमान कम्पनीहरुले अधिकतम मूल्यमा टिकट बिक्री गर्न थालेका छन् ।
बिहीबारसम्म सस्ता दरका टिकट बिक्री गरिरहेका विमान कम्पनीहरुले शुक्रबार भारी संख्यामा आन्तरिक उडान कटौती गरेसँगै हवाई भाडा पनि सरकारले तोकेको अधिकतम मूल्यमा बिक्री गरिरहेका छन् ।
अहिले घर फर्कनका लागि नयाँ बसपाक, पुरानो बसपार्क, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा यात्रुको भीड देखिन थालेको छ । उपत्यका बाहिरिने नाकाहरु नागढुंगा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको संख्या पनि बढेको छ ।
महाशाखाका अनुसार एक महिना अघि फागुन महिनामा विभिन्न नाका हुँदै ४ लाख ४५ हजार ३ सय ८८ सवारी साधन भित्रिएका थिए भने ४ लाख ४६ हजार २ सय १२ सवारी साधन उपत्यकाबाट बाहिरिएका थिए ।
फागुन महिनामा २६ लाख ८४ हजार ४९७ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने २७ लाख १८ हजार ८०९ जना यात्रु उपत्यका भित्रिएको तथ्याङ छ ।
महाशाखाका अनुसार चैत्र महिनाको ४, ५ र ६ गतेको अवधिमा विभिन्न नाका हुँदै ४४ हजार ३२२ यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएकामा ५३ हजार ५१९ सवारी साधन बाहिरिएका छन् ।
सोही अवधिमा २ लाख ७२ हजार ३ सय ३ जना यात्रु भित्रिएका छन् भने २ लाख ९५ हजार ५२१ यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ ।
प्रहरी प्रमुख भिमप्रसाद ढकालले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छाड्ने क्रम बढेको बताउछन् ।