कोरोनाको शंका लागे ११८० मा फोन गर्नु, जात्रा, मठ मन्दिरमा नजानुः महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्यले आफू वरपर कसैलाई कोरोना संक्रमणको आशंका भएमा टोल फ्रि नम्बर ११८० मा खबर गर्न अनुरोध गरेका छन् ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड-१९ (कोरोना भाइरस) को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगित सबैले सजगता अपनाउन आग्रह गरेका छन् ।
संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना रहेको उनको भनाई छ ।
उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउनु अपिल समेत गरेका छन् ।
उनले अहिले कोरोनाबाट सबै बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू नमनाउन पनि आग्रह गरेका छन् ।
यस्ता जात्रा तथा पर्वहरुमा निकै ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भीडभाडका साथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन मेयर शाक्यले अपिल गरेका छन् ।
विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको भन्दै मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा पनि भिडभाड कम गर्न आग्रह गरेका छन् ।
धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानहरूमा समेत भीडभाड नगर्न अपिल गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाउयन अपिल गरिएको छ ।
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गर्ने पनि उल्लेख छ ।