अब डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने



काठमाडौं । आइतबरदेखि डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने भएको छ ।

डिजिटल कारोबार निःशुल्क गर्दा बैंकको काउन्टरमा हुने भिडभाट कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो ।

बैंकर्स संघले डिजिटल कारोबार र अन्तर बैंक एटीएम कारोबारलाई निःशुल्क गर्ने निर्णय गरेर त्यसको जानकारी राष्ट्र बैंकलाई गराएको थियो ।

नोटबाट कोरोना सर्ने डर: डिजिटल कारोबार निःशुल्क गरिँदै, बैंकिङ सेवा बन्द नहुने

राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीलगायतको टोलीसँग बैंकर्स संघका अध्यक्ष भुवन दाहाल लगायतको टोलीले आज बिहान १० बजेदेखि ११ बजेसम्म यस विषयमा छलफल गरेको थियो ।

बैंकर्स संघले डिजिटल कारोबार र अन्तर बैंक एटीएम कारोबारलाई निःशुल्क गर्ने बैंकर्स संघको प्रस्तावलाई कामु गभर्नर शिवाकोटले प्रसंसा गर्दै कार्यान्वयनका लागि अघि बढ्नुस् भनेका थिए ।

इसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने, डिजिटल कारोबारलाई प्रोत्साहन गरिने

संघका अध्यक्ष दाहालले आजै आन्तरिक सर्कुलर गरेर आइतबारदेखि कम्तिमा १ महिना डिजिटल कारोकार निशुल्क गर्ने जानकारी दिए ।

सो अवसरमा बैंकिङ क्षेत्रलाई कोरोना भाइरसको जोखिमबाट न्यूनकिरण गर्न पूर्वसावधानी अपनाउने विषयमा पनि छलफल भएको थियो ।

राष्ट्र बैंकका अधिकारीहरुले कर्मचारी र ग्राहकलाई स्यानिटाइजर र मास्कको व्यवस्था गर्न तथा ज्वरो नाप्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

डेभलपमेन्ट बैंकर्स एशोसिएशनले पनि एक महिनाका लागि डिजिटल कारोबार निशुल्क गरेको छ ।
नोटबाट पनि कोरोना भाइरस सर्न सक्ने जोखिम रहने भन्दै बैंकरहरुले सकेसम्म नोटको कारोबार कम गर्ने उपाय अबलम्बन गरेका हुन् ।

उच्च सतर्कता अपनाउँदै बैंकिङ सेवा प्रदान गर्ने निर्णय भएको छ । सरकारले सबै क्षेत्र बन्द गरेपछि मात्र बैंकहरु पनि बन्द गर्ने सहमति भएको छ ।


पुष्प दुलाल