लाइसेन्स आवेदन बन्द, बैशाख ३ गतेसम्म सवारी साधनलाई क्यू फ्रि



काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम रोकथामका लागि नयाँ सवारी चालक अनुमति पत्र जारी नगर्ने भएको छ ।

यातायात विभागले बिहीबार एक सूचना जारी गर्दै चैत १३ गतेदेखि लागू हुने गरी अर्को सूचना नआउञ्जेल लाइसेन्स जारी गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको हो ।

विभागले सार्वजनिक यातायातका लागि समेत बैशाख ३ गतेसम्मका लागि क्यू फ्रि गरेको छ । सूचनामा सार्वजनिक यात्रुबाहक यातायातका सवारी साधनलाई २०७७ बैशाख ३ गतेसम्म बाटो इजाजत खुला गरिएको उल्लेख गरेको छ ।

त्यस्तै, नेपाल–भारत सञ्चालन हुँदै आएका मैत्री बस सेवा पनि तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । भने यात्रुबाहक सवारी साधनहरुले दैनिक रुपमा आफ्नो सवारी साधन सफा गरी जीवणू रहित बनाउने र सम्भव भएसम्म सेनिटाइजर प्रत्येक सवारीमा राख्न निर्देशन दिएको छ ।

त्यस्तै, क्षमताभन्दा बढी यात्रु नचढाउने र यात्रीले पनि सिट खाली नभएको अवस्थामा यात्राका लागि सवारी साधनमा नढ्ने तथा सम्भव भएसम्म मास्क नलगाई यात्रा नगर्न भनेको छ ।

विभागले देशका मुख्य मुख्य बस पार्क र काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकामा स्थापना गर्ने स्वास्थ्य चौकी स्थापनामा आफ्नो सामान्य स्वास्थ्य परीक्षण गराएर मात्रै यात्रु सवारी साधनमा चढ्न भनेको छ ।


क्लिकमान्डु