शुक्रबारदेखि काठमाडौं उपत्यकाका ५ स्थानमा सरकारले खाद्यान्न बिक्री गर्ने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका ५ स्थानमा खाद्यान्न बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारण खाद्यन्न आयात घटेको भन्दै व्यापारीहरुले कालोबजारी गरेपछि सरकारले जनतालाई सहज र सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन बिक्री केन्द्र सञ्चालन गर्ने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेख राज भट्टले बताए ।
‘आज-भोलिबाट नै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले खाद्यन्न बिक्री केन्द्र खोल्दै छन्,’ सरकारका तर्फबाट हुने नियमित पत्रकार सम्मेलनमा मन्त्री भट्टले भने ‘सविकमा झैं खाद्यन्न आयात छ तर उपभोक्ताले नै आवश्यकता भन्दा बढी सामानहरु खरिद गरेर भन्डार गर्दा अभाव देखिन थालेको हो ।’
जनस्तरबाट खाद्यन्नको आपुर्तिमा समस्या भएको गुनासो बढेपछि उपत्यकाका ५ स्थानमा खाद्यन्न बिक्री केन्द्र सञ्चालन गरिने र उपत्यका बाहिर भने अहिले नै समस्या नदेखिएको उनले जानकारी दिए ।
‘उपत्यका बाहिरका २२ जिल्लामा अध्ययन गर्दा त्यहाँको अवस्था सामान्य नै पाइयो, त्यहाँका ४० प्रतिशत जनसंख्याले मात्रै खाद्यान्न किनेर खाने गरेको पाइयो,’ उनले भने ।
कोरानाको संक्रमणको क्रसले उपभोक्ताले नै ग्यास, पेट्रोल, मट्टिटेल तथा अन्य खाद्यन्न आवश्यकताभन्दा बढी खरिद गर्ने प्रवृति वा व्यापारीहरुमा कालो बजारी बढेमा सरकारले सबै तर्फ अनुगमन गरी कारवाही गर्ने मन्त्री भट्टले बताए ।
‘फुल ट्यांकी पेट्रोल÷डिजेल हाल्ने अनि घरमा लगेर गिलेनम खन्याएर फेरि तेलको लाइनमा बस्ने गरेको पनि भेटियो,’ उनले भने, ‘यसरी घरमा तेल राख्दा झन ठूलो जोखिम निम्तन सक्नेप्रति पनि सचेत रहन सबैलाई आग्रह गर्दछु ।’
त्यसैगरी, १ क्विन्टल चामल तथा खाद्यान्न भए पुग्नेले ४ क्विन्टल किनेर राख्ने गरेको पनि पाएका छौं । साथै २ सिलिन्ड ग्यासले पुग्नेमा १० वटा सिलिन्डर ग्याससम्म घरमा लगेर राखेकाे हामीले पाएका छाैं ।
नेपालमा अझ पनि ६ महिनालाई पुग्ने खाद्यन्न, ८ महिनालाई पुग्ने औषधी, १० महिनालाई पुग्ने नुन र ३ महिनालाई पुग्ने चीनी साल्ट टे«डिङमा संचित रहेको भन्दै नआत्तिन आग्रह गरे ।