चिकित्साशास्त्रका विद्यार्थी र गैरसरकारी क्षेत्रका स्वास्थ्यकर्मीलाई स्वयमसेवक बन्न सरकारको आग्रह



काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथामका लागि चिकित्साशास्त्रका विद्यार्थी तथा गैरसरकारी क्षेत्रका स्वास्थ्यकर्मीलाई स्वयमसेवकका रुपमा काम गर्न आग्रह गरेको छ ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ तथा सञ्चामन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको रोकथामका लागि सरकारले स्वयमसेवकका रुपमा काम गर्न आग्रह गरिएको जानकारी दिए ।

‘ गैरसरकारी क्षेत्रका स्वास्थ्यकर्मी र निजी क्षेत्रका चिकित्सक र चिकित्साशास्त्रका विद्यार्थीलाई समेत यो अभियानमा स्वयम सेवकका रुपमा काम गर्न आह्वान गरेका छौं,’ उनले भने ।

‘शुरुमा हामीले हवाई नाका र पछि स्थलमा उत्तर र दक्षिण नाका नियमनको प्रक्रिया शुरु गरेका थियौं । अहिले १४१ भन्दा बढी स्थानमा त्यो व्यवस्था गरिएको छ । यस अतिरिक्त बचावटका लागि पूर्वसावधानीका लागि पनि काम गरिरहेका छौं,’ उनले भने ।

अहिले सरकारले आईसीयू बेड, स्वास्थ्यकर्मीका लागि आवश्यक तयारी पनि गरिरहेको जानकारी दिँदै यसका लागि सरकारी, निजी तथा सामूदायिक अस्पताल, सुरक्षाकर्मीका अस्पताल, प्रदेश र स्थानीय तहका सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिचालन गर्ने कुरा गरेको जानकारी दिए ।


क्लिकमान्डु