उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित, जेठको ७ र ८ गते गर्ने निर्णय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ ।
महासंघको स्थायी समितिको बिहीबार बसेको बैठकले चैत २८ र २९ गतेका लागि तोकिएको वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
महासंघका एक पदाधिकारीका अनुसार वार्षिक साधारण सभा र निर्वाचन आगामी जेठ ७ र ८ गतेका लागि तोकिएको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि महासंघले उक्त निर्णय गरेको हो ।
सरकारले यसअघि २५ जनाभन्दा बढी मानिसहरु समूहमा भेला नहुन, सभा सम्मेलन नगर्नका लागि निर्देशन दिइसकेको छ । साथै बुधबार सरकारले एसईई, विश्वविद्यालयका सम्पूर्ण परीक्षा तथा लोकसेवा आयोगका सबै परीक्षा समेत स्थगित गरिसकेको छ ।