रानीपोखरीको पुनर्निर्माणमा चोरीको बिजुली



फाईल फोटो

काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण बिजुली चोरेर काम भइरहेको फेला परेको छ । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो ।

टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर,वत्तिलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट भइरहेको छ ।

केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठकाअनुसार, फिल्ड रिपोर्ट र एक वर्षको खपत विवरणलाई आधार मानी दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको जानकारी दिए ।

उनले डारेक्ट हुकिङबाट एक लाख ४७ हजार आठ सय २३ रुपैयाँको विद्युत् चोरी भएको, त्यसमा शत्प्रतिशत जरिवाना, लाइन काटेको र मूल्य अभिबृद्धिकरसहित दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।

उनले भने, ‘उपभोक्ता समितिले बुधबार निर्धारण गरिएको रकम बुझाइसकेको छ, अब मिटर राखी विद्युत् जडान गर्ने तयारी भइरहेको छ ।’


क्लिकमान्डु