सीसीटिभीको सहयोगमा ९ हजारबढी सवारी चालक ट्राफिक कारबाहीमा परे



चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले सिसी क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने ९ हजार ५९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।

महानगरी ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७६/७७मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसी क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो ।

महाशाखाले आर्थिक वर्ष २०७४ ७५ मा ५५१ सवारीसाधनका चालकलाई कारवाही गरेको थियो । त्यस्तै गत आ.व २०७५/७६ मा ८ हजार ३८० चालक कारवाहीमा परेका तथ्याङकमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ९ हजार ५९ जनालाई कारवाहीको दायरामा ल्याएको छ ।

उक्त तथ्यांकको तुलनामा चालु आर्थिक वर्ष ०७६/७७ साउन महिनादेखि फागुनसम्मको अवधिमा अत्यन्तै धेरै सवारी साधन कारवाहीमा परेका छन् । महाशाखाले दिएको जानकारीअनुसार चालु आवको ८ महिनाको अवधिमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमबाट सडकमा खटिएको टोलीमार्फत ७ हजार ६१२, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सिसि क्यामरा फुटेजको आधारमा एक हजार ९७ र सर्भिलेन्स भेइकल र अन्य क्यामरामार्फत ३ सय ५० चालकलाई कारवाही गरेको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक नियम उल्लंघनका घटनासँगै महाशाखाले ०७४ माघ २५ देखि सिसी क्यामराको प्रयोगमार्फत सवारीसाधनका चालकलाई कारबाही गर्न थालेको हो ।

महाशाखाले सिसी क्यामराका अतिरिक्त ड्यासबोर्ड क्यामरा, ग्रोप्रो क्यामरा, बडिवन क्यामरामार्फत पनि कारबाही गर्दै आएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालले सीसी क्यामेराको प्रयोगले ट्राफिक नियमनलाई छरितो र प्रभावकारी बनाउँदै लगेको बताए ।

उनले सीसीटिभीले ट्राफिक नियमनमा उल्लेखनीय भूमिका निभाएको भन्दै दैनिक १ देखि डेढ सय सवारीलाई कारबाही गर्न सफल भएको बताए ।

हाल उपत्यकाभर १ हजार ६ सय ८६ वटा सीसीटिभी रहेकोमा यसलाई थप गर्दै लैजाने काम भइरहेको ढकालले जानकारी दिए ।अहिले सीसीटिभी जडान भएका स्थानमा पनि छुट्टाछुट्टै निकायबाट हेर्ने काम भइरहेको छ ।

आगामी दिनमा यसलाई एकै स्थानबाट सबै ठाउँको नियमन गर्ने गरी काम अगाडि बढाउने योजना रहेको उनले बताए । विगतको तुलनामा अहिले सिसी क्यामेराको माध्यमबाट निगरानी गरि जरिवाना गर्ने काम प्रभावकारी बन्दै गएको भिम ढकालले बताए ।

उनले  जहाँ ट्राफिक व्यवस्थापन हुदैन त्यहाँ बढी नियम उलङ्घन गर्ने गरेको चालकहरुलाई सिसी क्यामरा हेरेर नियम उलङ्घन गर्ने गरेको गाडीको नम्बर थाहा हुने र त्यसपछि यातयात कार्यालयमा नाम,थर, ठेगाना, बुझेपछि फोन गरी उसलाई चिट काटेर घरमै पठाउने गरेको बताए ।

यदि चालकले गल्ति गरेको छैन भन्ने लागेमा चालकलाई अफिस बोलाएर जरिवाना लिने काम गरेको उनले क्लिकमान्डुसँग भने । ढकालले आउने दिनमा स्मार्ट सीसी क्यामेरासमेत जडान गरिने जानकारी दिए ।

‘अहिले सामान्य सीसीक्यामेरा जोडिएको छ, आउँदो समयमा राखिने क्यामेरा स्मार्ट र थप जानकारी दिनेखालको हुनेछ,’ ढकालले भने ।

सीसी क्यामेराले ट्राफिक नियन्त्रण मात्र नभई समाजमा हुने अपराधलाई समेत नियन्त्रण गर्न सक्ने भन्दै उनले अहिलेको तुलनामा दोब्बर सीसी क्यामेरा जडान गर्न आवश्यक रहेको बताए ।

‘सिसी क्यामेराले ट्राफिक नियमपालनाका लागि मात्र नभई सर्वसाधारणमा सचेतनासमेत जगाएको छ, यसलाई अझै विस्तार गर्दै लाने छौँ,’ ढकालले भने ।


क्लिकमान्डु