पेट्रोल, डिजल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार निगमले पेट्रोल, डिजल, मट्टितेलसँगै हवाई इन्धनको मूल्य घटाएको हो।
राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले घटाएको निगमले हवाई इन्धनको मूल्य पनि ४.५० रुपैयाँले घटाएको हो । जसले गर्दा आम उपभोक्तासँगै हवाई कम्पनीलाई ठूलो राहत मिलेको छ ।
कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पर्दा हवाई कम्पनीहरुले हवाई इन्धनको मूल्य घटाउन सरकारसँग माग गर्दै आएको थिए । नयाँ मूल्यअनुसार हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ ।
निगमले ईण्डियन आयल कर्पोरेशनबाट हाल हवाई ईन्धनको नयाँ खरिद मूल्य प्राप्त नभए पनि पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनिकरण गर्न १ मार्चमा प्राप्त हवाई ईन्धन मूल्यको आधारमा नै देशभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई ईन्धनको मूल्य घटाइएको जानकारी दिएको छ ।
हाल अर्न्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको कारण १६ मार्च २०२० मा ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोल र डिजेलको मूल्य घटेर आएको हुँदा पेट्रोलियम पदार्थ मूल्य घटाइएको जानकारी दिएको छ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई ईन्धन (बाह्य तर्फ)को हालको मूल्य यथावत नै राखिएको जनाएको छ ।