यातायात मन्त्री नेम्बाङद्वारा ऐतिहासिक मानदेव पथको उद्घाटन



काठमाडौं । लिच्छिविकालीन राजा मानदेवद्वारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले उद्घाटन गरेका छन् ।
भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँहुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको आज रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले चाँगुनारायण मन्दिर क्षेत्र ऐतिहासिक रहेको बताउँदै पर्यटकीय रुपमा पनि यस क्षेत्रको ठूलो महत्व रहेको बताए ।

उनले नगरकोट जाने बाटो चाँडै सम्पन्न हुनुपर्ने बताए ।

‘नगरकोट पर्यटनको एउटा प्रमुख केन्द्र हो । त्यसलाई हरियाली बनाउनु पर्छ । धुलो रहित कालोपत्रे बाटो बनाइनु पर्छ र पर्यटकका लागि सहज पहुँच मार्ग बनाइनु पर्छ,’ उनले भने ।

तर केही समस्या भएको उनको भनाइ छ ।

उनले त्यसलाई नीतिगत रुपमा चाँडै टुंग्याएर नगरकोट आउने पर्यटकहरुलाई सहज बनाइने उल्लेख गरे ।

भक्तपुरको समग्र विकास गर्न वडा अध्यक्ष, पालिका प्रमुख, सांसद सबै जनप्रतिनिधि अत्यन्तै सक्रियतापूर्वक लागेको जानकारी पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै यसरी नै सबै जनप्रतिनिधिहरु लागे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपना र चालेको महाअभियान समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान पूरा हुने बताए ।

भक्तपुरदेखि काठमाडौं जोड्ने नाका कोटेश्वरको जामलाई अस्थायी रुपमा समाधान गर्न जडिबुटीदेखि कोटेश्वरसम्म चार लेनबाटो खोल्न ठेक्का लगाइएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि तयारी गरिएको बताए ।

‘एयरपोर्टबाट अन्डरपास निकालेर जडीबुटी जोड्नुपर्छ, त्यसको प्रारम्भिक काम शुरु भएको छ, जाइकाले अध्ययन शुरु गरेको छ, ३ वर्षमा यो काम सक्ने लक्ष्य लिएका छौं,’ उनले भने ।


क्लिकमान्डु