आजदेखि ग्यासको नयाँ सिलिन्डर किन्न नपाइने, खाली सिलिन्डर हुनेले मात्रै पाउने
काठमाडौं । बजारमा ग्यास सिलिन्डरको आपूर्तीमा समस्या देखिएपछि आजदेखि नयाँ सिलिन्डरसहित ग्यास नपाइने भएको छ ।
ग्यास उद्योगी र एलपी ग्यास बिक्रेता महासंघले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोमबारदेखि बजारमा नयाँ सिलिन्डर बिक्री बन्द गरिएको हो ।
‘उपभोक्ताले ग्यास स्टक राख्दा बजारमा ग्यासको आपूर्तीमा समस्या भयो, त्यसैले खाली सिलिन्डर भए मात्रै पाइन्छ, नयाँ सिलिन्डरको बिक्री रोकिएको हो,’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भने ।
त्यस्तै, ग्यास आपूर्तीमा कुनै पनि समस्या नरहेको भन्दै स्टक राख्ने उपभोक्ताका कारण अरुलाई समस्या भएको उनको भनाइ छ ।
भण्डारीका अनुसार मुलुकभर हाल १ करोड ३० लाख सिलिन्डर छन् । भने काठमाडौंमा मात्रै करिब ५० लाख सिलिन्डर प्रयोगमा छन् । जसमध्ये उपभोक्ताले यस अवधिमा करिब ४० लाख सिलिन्डर भरेर स्टक राखिसकेका छन् भने बाँकी १० लाख सिलिन्डर मात्रै रिफिल हुन बाँकी छन् ।
‘स्टक राख्ने प्रवृतिले धेरै सिलिन्डर भरिएका छन्, यस्तै रह्यो भने एक सातापछि ग्यास बिक्री नै नहुने अवस्था आउन सक्छ,’ उनले भने ।
हाल नेपालमा प्रत्येक वर्ष १५ प्रतिशतले ग्यासको उपभोग बढीरहेको छ । जसमध्ये सन् २०१८ मा ३३ हजार मेट्रिक टन ग्यास मासिक खपत भइरहेकोमा सन् २०१९ मा आइपुग्दा मासिक ३८ हजार मेट्रिक टन ग्यास खपत भएको थियो ।
त्यस्तै, सन् २०२० मा आइपुग्दा ग्यास खपत मासिक ४३ हजार मेट्रिक टन पुगेको छ । र, अहिले दैनिक ग्यास आपूर्तीमा खपतभन्दा बढी नै भए पनि बजारमा माग अझै कायम रहेको बिक्रेता महासंघका अध्यक्ष श्रेष्ठले बताए ।
व्यवसायीहरुले आगामी दिनमा यस्तो समस्या सिर्जना हुन नदिन सरकारले उपभोक्ता कार्ड प्रभावकारी रुपमा लागू गर्नुपर्ने समेत बताए ।
‘पहिले कार्डको योजना लागू गरिएको थियो, तर त्यसैबेलामा सरकार परिवर्तन भयो, अहिले ४÷५ लाख कार्डहरु त्यसै थन्किएका छन्, यदी त्यो कार्यान्वयन भएको भए अहिले स्टक राख्ने क्रम हुन्नथ्यो,’ उद्योगी शिवप्रसाद घिमिरेले भने ।
ग्यास सिलिन्डर स्टक राख्दा एकातिर घरमा जोखिम बढ्यो भने अर्कोतर्फ ग्यास नपाउनेले पनि दुख पाउने अवस्था सिर्जना भएको व्यवसायीहरुको भनाइ छ ।
ग्यास आपूर्ती सहज नभए फरक कम्पनीका सिलिन्डर साटफेर गर्न सक्ने सम्भावना कति छ भन्ने प्रश्नमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष भण्डारीले त्यस्तो अवस्था नआएको र त्यो कानूनी रुपमा पनि नमिल्ने बताए ।
‘अहिले नै त्यो अवस्था आएको छैन, एक सातामा यो सम्पूर्ण समस्या हटेर ग्यास बिक्री नहुने अवस्था आउन सक्छ, फेरि सिलिन्डर कम्पनीको सम्पत्ति भएकाले साटफेर हुँदैन,’ उनले भने ।