कोरोनाले महाबौद्धको होलसेल व्यापार सुनसान, आयात नहुँदा मूल्य बढ्यो
काठमाडौं । कोरोना भाइसरले विश्वव्यापी रुपमा अर्थतन्त्रमा असर पारिरहेका बेलामा काठमाडौं पनि अछुतो छैन । चीन भारत र तेस्रो मुलुकबाट हुने आयात ठप्प जस्तै भएका बेला काठमाडौंको होलसेल बजार महाबौद्धमा मन्दी जस्तै छाएको छ ।
महाबौद्ध, असन, इन्दचोक, न्यूरोडलगायतका व्यापारिक केन्द्र सुनसान जस्तै बन्न थालेका छन् । एक महिना अघि हिँड्न समेत बाटो नपाइने यी सहरका गल्ली आजभोलि भने खाली जस्तै भएका छन् ।
कोरोना भाइरसका कारण छिमेकी मुलुक चीनतर्फका नाका ठप्प भएसँगै नेपाली बजारमा चाइनिज सामान आयात हुनसकेको छैन ।
करिब डेढ महिना अघि कोरोना भाइरसका कारण चीनका नाका बन्द हुँदा त्यसको असर नेपाली बजारमा परेको हो । दुई देशबीचको नाका ठप्प हुँदा चीनबाट आयात गरिने कपडा, जुत्ता, चप्पल र अन्य फेन्सीका सामान नेपाली बजारमा अभाव हुँदै गएको व्यापारीहरुको भनाइ छ ।
नाका बन्द भएसँगै स्टक राखिएका सामान बिक्री गर्दै आएको र सो स्टक सामान समेत सकिएका कारण ग्राहकहरुको संख्या घट्दै गएको व्यापारीहरु बताउँछन् ।
महाबौद्धस्थित अञ्जिता फेन्सी पसलका व्यापारी बिमला थापाका अनुसार सामान अभावको साथै ग्राहकहरु समेत सामान किन्न आउन छाडेको बताइन् ।
‘पहिलेको तुलनामा अहिले बजार सुनसान छ, अहिले स्टक सामान बिक्री भइरहेको छ,’ उनले भनिन् ।
त्यस्तै महाबौद्धस्थित हरिसिद्धि स्टोरका रिच श्रेष्ठ कोरोनाका कारण व्यापार ठप्प भएको बताउँछन् ।
चीन र भारत दुवै देशबाट सामान आउने गरेकोमा अहिले दुबै देशबाट सामान नआएको र स्टक राखिएको सामान समेत लागिसकेको बताएका छन् । अहिलको स्थितिमा भाडा तिर्न समेत धौधौ परेको अवस्था रहेको उनले क्लिकमान्डुुसँग बताए ।
पहिलेकै सामान भएका कारण पहिलेकै मूल्यमा सामान बिक्री गर्दै आएको उनको भनाइ छ ।
खाँडादेवी इलोक्ट्रोनिक स्टोरका शुक्रमिर श्रेष्ठ भने इलोक्ट्रोनिक सामान भने बजारमा अभाव नभएको बताउँछन् । व्यापारमा कमी आएको तर सामानका लागि समस्या नरहेको बताएका छन् ।
‘कुनै कुनै सामानमा १/२ प्रतिशतले मूल्यवृद्धि भए पनि सवै सामानमा मूल्यवृद्धि नभएको उनले बताए ।
अरु सामान जस्तो तत्काल इलोक्ट्रोनिक सामान नबन्ने भएका कारण मूल्यवृद्धि नहुने उनले बताए ।
मुस्कान फेन्सी स्टोरकी सरिता श्रेष्ठले गर्मीका कपडा बजारमा आउन नसकेको र स्टक राखिएको कपडा समेत बिक्री भइसकेको बताइन । तत्काल गर्मी मौसम शुरु नभएको कारण कपडा व्यापारीलाई असर नपुगेको उनको भनाइ छ ।