जग्गा पास मै १७ लाख घुस, अनुसन्धान अधिकृतलाई पैसाको नम्बर टिप्नै सकस



काठमाडौं । जनताको सेवा गर्छु भनेर कसम खाएर सरकारी सेवामा प्रवेश गरेका सरकारी कर्मचारी कुन हदसम्म भ्रष्टाचारी हुन्छन् भन्ने कुराको पुष्टि भएको छ । नियमानुसार पास हुने जग्गा पास गर्दा सरकारी कर्मचारीले नै १७ लाख रुपैयाँसम्म घुस लिइएको पाइएपछि सो कुराको पुष्टि भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मालाई पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो ।

सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटकपटक घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारले नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी तथा मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राज कुमार अर्याललाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुले एक आपसमा मिलिजुली बांडीचुंडी खाने मनसायले सेवाग्राहीसंगबाट १७ लाख रुपैयाँ घुस लिएका थिए । उनीहरुलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बसपार्क स्थित अशोका होटलको अगाडीबाट पक्राउ गरिएको हो ।

उनीहरूबाट बरामद गरिएको १७ लाख रूपैयाँको नोटको नम्बर टिप्नै सकस भएको थियो । हजार रूपैयाँका दरले १७ सय वटा नोटको नम्बर टिपोट गर्नै निकै सकस भएको थियो ।


क्लिकमान्डु