विदेशबाट व्यक्तिगत रुपमा १० लाख डलरसम्म ऋण ल्याउन पाइने, सेयर र घरजग्गामा लगानी गर्न प्रतिबन्ध



काठमाडौं । विदेशी लगानी बढाउनको लागि राष्ट्र बैंकले कम्पनी तथा फर्मले विदेशी मुद्रामा ऋण ल्याउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले नेपाल नागरिक तथा फर्म र कम्पनीले विदेशमा रहेका आफन्त,गैर आवासीय नेपाली तथा अन्य व्यक्ति तथा संघ संस्थाबाट ऋण ल्याउन सक्ने व्यवस्था गरेको हो ।

यसरी ल्याउने ऋणमा तेस्रो देशको लागि १० लाख अमेरिकी डलरको सीमा तोकिएको छ भने भारतबाट १० करोड भारतीय रुपैयाँसम्म ऋणको रुपमा पैसा नेपालमा ल्याउन पाइन्छ ।

राष्ट्र बैंकमा यसको लागि ऋण ल्याउनको कारण र उपयोगको बारेमा जानकारी दिनुपर्ने हुन्छ । यसरी ल्याउने ऋणको ब्याजदर एकवर्षको लागि लिबोर रेटमा ०.५ प्रतिशतसम्म हुनुपर्ने छ । ३ वर्षभित्रमा ऋण विदेशमा भुक्तानी गर्न सकिने छ । ऋण औपचारिक बैंकिङ माध्यमबाट भित्राउनुपर्ने छ ।

यसरी ल्याएको ऋण कानून अनुसार तोकेको क्षेत्रमा लगानी गर्न सकिने छ । तर,नेपालमा लगानी गर्न खुल्ला भएको सेयर बजार र घरजग्गामा भने विदेशबाट ल्याएको ऋण प्रयोगथ गर्न पाइने छैन ।


क्लिकमान्डु