सेक्युरिटी प्रेस खरिद प्रकरणबारे छानबिन गर्न अख्तियारलाई सार्वजनिक लेखा समितिको निर्देशन



काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणबारे छानबिन गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको लेखा समितिको बैठकले यस सम्बन्धमा अख्तियारलाई छानबिनका लागि निर्देशन दिनेलगायत ४ बुँदे निर्णय गरेको छ ।

लेखा समितिको निर्णय सुनाउँदै सभापति भरतकुमार शाहले २ वटा निर्देशन र २ वटा निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार सेक्युरिटी प्रेस खरिद गर्दा खुला प्रतिष्पर्धाबाट मात्रै गर्न र यसबारे अख्तियरालाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।

साथै सेक्युरिटी प्रेस खरिद गर्न जीटुजी प्रक्रिया सम्बन्धमा सम्बन्धित निकाय, मन्त्री, मुख्य सचिवसँग छलफल गर्ने र खरिद लागत अनुमानलगायत कागजपत्र तयार पार्ने सम्बन्धमा थप छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

यसअघि सेक्युरिटी प्रेस खरिद प्रकरणमा घुस मागेको अडियो बाहिरिएपछि तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।


क्लिकमान्डु