साइबर अपराध बढ्यो, सबैभन्दा धेरै फेसबुकमा फेक आइडीबाट



काठमाडौं । पछिल्लो समय देशभित्र हुने अपराधमध्ये साइवर अपराध तीव्र रुपमा वृद्धि भएको सरकारी तथ्याङले देखाएको छ । सूचना र प्रविधिको बढ्दो प्रयोगसँगै अपराधमा पनि बढेको पाइएको छ ।

विद्युतीय कारोबार ऐन–२०६३ साइवरमा के गर्न हुन्छ वा हुदैन भन्ने प्रस्ट लेखिएको छ । ऐनमा गर्न नमिल्ने भनि उल्लेख भएका गतिविधि गरे साइबर अपराध मानिन्छ ।

इन्टरनेटको प्रयोगमार्फत् गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काका पहिचान अनाधिकृत रुपमा प्रयोग, क्रेडिट कार्ड तथा अकाउन्टआदिको चोरी गरी गरिने बैकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्ककमा पुर्याउने क्षतिलगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध भनिएको छ ।

पछिल्लो समय फेसबुक फेकआइडी, यूट्व अपलोड, म्यासेन्जर, भाइबर, ह्वाट्स एप, ईस्ट्राग्राम, ईमो, ट्वीटर जस्ता सामाजिक सञ्जालमा हिंसात्मक र अश्लील सामग्री राख्ने मात्र नभई धम्की दिने, गालीगलौच गर्ने र चरित्रहत्या गर्ने सम्मका हर्कत बढेको देखिन्छ ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ७ सय ३४ साइबर अपराधका घटना दर्ता भएका छन् । त्यसमध्ये ४ सय ३४ महिला पीडित भएका छन् भने ३ सय पुरुष पीडित भएका छन् ।

त्यस्तै उमेरगत संख्यालाई हेर्दा ११० जना २० वर्ष मुनिका, ३ सय ८९ जना २० देखि ३० वर्षका, १ सय ६९ जना ३० देखि ४० वर्षका र ६७ जना ४० वर्ष भन्दा माथिका छन् ।

सबैभन्दा बढी साइबर अपराध फेसबुकमा ‘फेक आइडी’ बनाएर गर्ने गरिएको तथ्यांकले देखाएको छ । चालु आवको ७ महिनामा ५ सय ५५ वटा फेसबुक फेक आइडी बनाएर साइबर अपराध गरेकाहरुलाई मुद्दा चलाइएको अपराध महाशाखाले जनाएको छ ।

त्यस्तै १५ यूट्युव अपलोड, २० इस्टाग्राम, १७ इमेल ह्याक, ११ ह्वाट्स एप र १५ ट्वीटरबाट अपराध गरेकाले मुद्दा चलाइएको हो ।

त्यस्तै ७७ म्यासेन्जर, १० ईमो, ४ अनलाइन र १० भाइबरबाट पीडित बनेको उजुरी परेका छन् । नेपाल प्रहरीमा रहेको तथ्यांक हेर्ने हो भने एक सातामा २ सयभन्दा बढी उजुरी आउने गरेका छन् । तर, यसरी उजुरी गर्नेमध्ये एकदमै सानो संख्यामा अदालतसम्म पुग्ने गरेको पाइन्छ ।

धेरै उजुरीमा अभियुक्त फेला परेपछि आफैं मेलमिलाप गर्नेहरुको संख्या बढेको छ । यसले अपराधमा संलग्न व्यक्ति पीडितको आफ्नै नजिकका साथीभाइ, आफन्त र चिनेजानेका नै हुने गरेको महानगर अपराध महाशाखाका प्रवक्ता मुकेशकुमार सिंहले बताए ।

विगतका तुलनामा यस्तो घटनाहरु हरेक वर्ष बढ्दै गएको देखिन्छ । अपराध महाशाखाका अनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा १ हजार १९७ मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४८२ र २०७५/७६ मा १ हजार ९३८ मुद्दा दर्ता भएका थिए ।

प्रवक्ता सिंहका अनुुसार सबैको हातहातमा इन्टरनेटको सुविधा, प्रयोगकर्तामा जनचेतनाको कमी, सामजिक सञ्जाल सम्बन्धी ज्ञानको अभाव, प्रयोगकर्ता व्यापक रुपमा वृद्धि हुनु, एकले अर्कालाई विश्वास गरी पासवर्ड बाँड्नेलगायतका कारण साइबर अपराधका घटनामा वृद्धि भइरहेको छ ।

नेपाल प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर क्राइमको बारेमा विद्यालय, कलेज, समूदायमा जनचेतना गराउने योजना रहेको उनले क्लिकमाण्डुसँग बताए ।

नेपाल प्रहरीले साइवर अपराध बढेसँगै डिआइजीको नेतृत्वमा साइबर क्राइम ब्यूरो समेत खोल्ने तयारी गरिरहेको छ ।

साइबर अपराधका घटनाहरू बढ्नुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो जिम्मेवार रहेको जानकारको भनाइ छ । साइबर अपराध बिरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो देखिएको उनीहरुको बुझाइ छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

नेपालमा साइबर हमलाको अवस्था बढेर गएकाले साइबर अपराधका घटनाहरूमा बृद्धि हुँदै गइरहेका छन् । बैंक तथा बित्तिय क्षेत्रमा साइबर हमलाका घटनाहरू बढेर गएको छ । नेपालमा बढ्दो साइबर थ्रेटसँगै साइबर सुरक्षाको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।


क्लिकमान्डु