काटेश्वर-कलंकी सडकमा नयाँ नियम, यात्रुबाहक बाँया लेन र निजी सवारी दाँयाबाट गुड्ने



काठमाडौं । कोटेश्वर–कलंकी ८ सडक खण्डमा लेन प्रयोगको नयाँ नियम लागू गरिने भएको छ । सवारी आवागमनलाई सहज बनाउने उद्देश्यले नयाँ लेनको नियम लागू गर्न लागिएको हो ।

उक्त नियम अनुसार यात्रुबाहक तथा मालबाहक र कम गतिमा गुड्ने सवारी साधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दायाँ लेनबाट मात्र चल्नेछन् ।

नयाँ नियम चैत २ गतेदेखि लागू गरिनेछ ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास समेत छ,’ उनले भने ।

उनले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यूनिकरण हुने अपेक्षा गरिएको छ । उक्त सडक खण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने उनको विश्वास छ ।

यसको प्रभावकारी कार्यान्वयनका लापग सम्बन्धित सरोकारवाला निकाय र संघ संस्था, यातायात सञ्चालक र व्यवसायीहरू, नागरिक समाजआदिसँग छलफल भइरहेको छ ।

त्यस्तै महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सवारी साधनले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइडलाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेकाले नयाँ नियम लागू गरिएको बताए ।

उनले सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए ।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ । यस नियम यसअघि नै महाशाखाले जडिवुटी–सुर्यविनायक सडक खण्डमा पूर्णरुपमा कार्यान्वयनमा ल्याइ सकेको छ ।

नियम कार्यान्वयनका लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरी अनुगमनका लागि सम्बन्धित सम्पूर्णबाट प्रतिनिधित्व हुने गरी समितिसमेत गठन गरिएको छ ।


क्लिकमान्डु