नक्कली सर्टिफिकेट रोक्न त्रिविले सेक्युरिटी फिचर ‘गुलुची’ थप्ने, शुल्क ४ गुणा बढायो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सो सम्बन्धी प्रक्रिया शुरु गरिएको जानकारी दिए ।
उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । त्यसको बीचमा छापसहितको ७ प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ ।
‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ’, परीक्षा नियन्त्रक जोशीले भने,’त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो ।’
त्यो पानीमा पानीमा नभिज्ने र नच्यातिने हुनेछ । सबैलाई एउटै किसिमको दिइने ति ट्रान्सक्रिप्टको बाहिरी गाता भने ५ किसिमका हुनेछन् । अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन् । अन्य सकांयभन्दा चिकित्सा र इञ्जिनीयरिङ विषयका भने फरक-फरक ट्रान्सक्रिप्ट छन् । सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो ।
परीक्षा नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए । ‘त्यसको ढाँचा तयारी गरिएको छ’ उनले भने, ‘अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा छाैं।’
ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटो हुन्छ । विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो । नयाँ ट्रान्सक्रिप्टलाई हालको भन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ । वाक्लो गाता (फोल्डर) मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने उक्त ट्रान्सक्रिप्ट अहिलेको भन्दा ५ गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए ।
पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ । उनका अनुसार प्रविणता प्रमाणपत्र तहको लागि २ हजार रूपैयाँ , स्नातकको २ हजार २०० रूपैयाँ, स्नातकोत्तर तह र एमफिललाई २ हजार ५०० रूपैयाँ र विद्यावारिधीका लागि ३ हजार रूपैयाँ तोकिएको छ ।
अहिले त्रिविले स्नातक तहलाई ४५० रूपैयाँ र स्नातकोत्तर तहलाई ५०० रूपैयाँ शुल्क लिँदै आएको छ ।
यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै संकायमा ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अब सबै संकायको फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको परीक्षा नियन्त्रक जोशीले बताए । त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र संकायको ट्रान्सक्रिप्ट दिँदै आएको छ ।