वित्तीय संकटमा फसे रोहिणी थपलिया, माज्दा मोटर्सको डिलर खोसियो



काठमाडौं । वित्तीय व्यवस्थापन गर्न नसकेको कारण व्यवसायी रोहिणी थपलिया थप संकटमा परेका छन् ।

उनले माज्दा गाडी आयातको लागि लिएको ऋण नै तिर्न नसकेपछि प्रभु बैंकले सार्वजनिक सूचना निकालेको थियो । तत्कालिन राजदरबार निकट रहेका व्यवसायिक सफलता हासिल गरेका थपलियाले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा समेत व्यवसाय बढाउने काम गरेका थिए ।

थपलियाका छोराले कार्कीको छोरीसँग विवाह गरेका छन् । नातामा थपलिया र कार्की सम्धी पर्छन् ।

प्रभु बैंकले केही दिन अगाडि ऋण तिर्न आउन थपलियालाई सार्वजनिक सूचना जारी गरेको थियो । सिभिल बैंकले पनि सूचना प्रकाशित गरिसकेको थियो ।
अख्तियारमा कार्कीको बहिर्गमनसँगै थपलियाको व्यवसाय समेत संकटमा परेको हो ।

जापानी गाडी माज्दा नै बिक्री गर्नको लागि लिएको ऋण नै तिर्न नसकेपछि गाडी निर्माता कम्पनीले नेपालमा नयाँ डिलर खोजेको हो ।

थपलियाको कम्पनी पद्म श्री प्रालि लाई हटाएर नयाँ बिक्रेता कम्पनी खोजेको छ ।

कम्पनीले सूचना जारी गर्दै बिक्रेता बन्न चाहने कम्पनीलाई आउन आह्वान गरेको छ ।

थपलिया गाडी बिक्रेताहरुको संस्था नाडाका पूर्व अध्यक्ष समेत हुन् ।


क्लिकमान्डु