कामनपाले एक महिनामा हटायो १२ हजारबढी होर्डिङ बोर्ड, अब डिजिटल बोर्ड राखिने



काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत झुन्डाइएका होर्डिङ बोर्ड हटाउने अभियान तीव्र पारेको छ । सहरी सुन्दरता जोगाउन भन्दै महानगरपालिकाले यो अभियान अगाडि बढाएको हो ।

काठमाडौं महानगरपालिकाले सुन्दरता जोगाउने अभियान शुरु गरिएको काठमाडौं महानगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

गृह मन्त्रालयको निर्देशनपछि महानगरपालिकाले पुस २१ गतेबाट आफ्नो क्षेत्रभित्रका पर्चा, पम्प्लेट, बोर्ड, होर्डिङबोर्ड हटाउन शुरु गरेको सापकोटाले बताए ।

महानगरपालिकाका अनुसार यस अभियान अन्तर्गत ठूला आकारका ४४ थान बोर्डहरु हटाएको छ भने १२ हजार २ सय ८३ थान साना बोर्डहरु हटाएको छ ।

महनगरले २ महिनाको अवधिमा १२ हजार २ सय ८३ थान बोर्डहरु हटाउन सफल भएको छ ।

‘२ महिनाको अवधिमा १२ हजार २ सय ८३ थान होर्डिङ बोर्ड हटाइसकेका छौं, यसलाई निरन्तरता दिँदै लैजाने छौं,’ उनले भने ।

महानगरको सक्रियतामा घरको भित्ता, झ्याल, प्रायोजित सहितका बोर्डहरु, कौसी तथा भित्तामा राखिएका साना बोर्डहरु हटाइएको हो ।

अभियानअन्तर्गत त्रिपुरेश्वर, माइतिघर, ज्ञानेश्वर, मैतिदेवी, नागपोखरी, एयरपोर्ट , बालुवाटार, जमल, कालिमाटी, डिल्लीबजार, कलंकी, अनामनगर, क्षेत्रका बोर्डहरु हटाइएको महानगर प्रहरी प्रमुख धनपति सापकोटा बताउँछन् ।

त्यस्तै महाराजगञ्ज, रातोपुल, सेतोपुल, कालोपुल, धुम्वाराही, सोल्टीमोड, बागबजार, कृष्ण पाउरोटी, पदमोदय मोडहुँदै हनुमान थानसम्म नियम विपरीत राखिएका बोर्डहरु महानरपालिकाको सक्रियतापछि हटेका छन् ।

महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचारप्रसार सामग्री नियमन नीति २०७० ले महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनधिकृत रूपमा बोर्ड राख्न नपाइने उल्लेख छ ।

नीतिमा बिजुलीको पोल तथा सडक छेउका फलामे पोल तथा सिमेन्टको पोलमा व्यावसायिक तथा फ्रेमसहितको ब्यानर राख्न पनि प्रतिबन्ध गरिएको छ ।

डिजिटलबोर्ड राख्दा सहर सुन्दर देखिने भएकाले यो योजना अघि सारिएको सापकोटाले बताए । यो अभियान यसै वर्षभित्र शुरु हुने उनको भनाइ छ ।

‘होर्डिङबोर्ड हटाएपछि डिजिटल बोर्ड राख्ने योजना अघि सारेका छौं,’ उनले भने, ‘सम्भवतः यसै वर्षभित्रबाट यो शुरु हुनेछ ।’


क्लिकमान्डु