कोरोनाको प्रभाव: अमेरिकी डलर ११९ रुपैयाँ पुग्यो



काठमाडौं । नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार बजारमा १ डलर बराबर ११९ रुपैयाँमा कारोबार भएको छ ।

भारतीय अर्थतन्त्रमा समस्या भएर भारतीय रुपैयाँ कमजोर भएपछि स्वत नेपाली रुपैयाँ कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९० पैसा तोकेको छ । पछिल्लो एक महिनामा नै डलरको भाउ ५ रुपैयाँले बढेको हो । राष्ट्र बैंकको अनुसार गत माघ २८ गते डलरको भाउ एकको खरिददर ११४ रुपैयाँ रहेको थियो ।

यस्तै युरोपियन युरोको भाउ पनि एक महिनामा १० रुपैयाँले बढेको छ । एक महिना अगाडि एक युरोको खरिददर १२५ रुपैयाँ रहेकोमा आज राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयदर अनुसार १३५.११ पैसा रहेको छ । एक महिनाअघि एकको खरिददर १४७.८८ रुपैयाँ रहेको यूके पाउड एक महिनामा ७.१३ रुपैयाँले बढेर १५५.०१ रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसका कारणले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि विदेशी विनिमयको भाउ बढेको जानकारहरुको भनाइ छ ।

यसैगरी एक महिनाअघि एकको खरिददर ३७५.५२ रुपैयाँ रहेको कुवेत दिनारको भाउ एक महिनामा १३.१७ पैसाले बढेर ३८८.६९ रुपैयाँ पुगेको छ भने ३०३.३१ रुपैयाँ रहेको बराहिन दिनारको भाउ एक महिनामा १२ रुपैयाँले बढेर ३१५.२२ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु