जापानले विदेशी विद्यार्थीलाई दिने सीओईको म्याद बढाएर ६ महिना पुर्यायो



काठमाडौं । जापानले विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमति पत्र सीओईको म्याद बढाएर ६ महिना बनाउने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण जापान अध्ययनका लागि आउन लागेका विद्यार्थीमा परेको असर कम गर्न जापानले नयाँ घोषणा गरेको हो ।

यो निर्णयसँगै जापान प्रवेशका लागि अनुमति पत्र ‘सर्टिफिकेट अफ इलिजिविटी’ पाएर पनि जापान आउन रोकिन पुगेका विद्यार्थीहरुले ठूलो राहत पाउने भएका छन् ।

जापानको न्याय मन्त्रालयले मार्च १० मंगलबार एक सूचना जारी गर्दै सीओईको समय बढाएको जानकारी दिएको हो । यसअघि सीओईको म्याद ९० दिनको मात्रै हुन्थ्यो ।

यो निर्णयसँगै अब जापान अध्ययनका लागि सीओई पाएर जाने कि नजाने भन्ने दोधारमा परेका विदेशी विद्यार्थीहरु लाभान्वित हुनेछन् ।

सीओईको म्याद ६ महिना हुने भन्दै न्याय मन्त्रालयले यो अवधिभित्रमा सम्बन्धित देशमा रहेको जापानी दूताबासबाट भिसा भने लिइसक्नुपर्ने स्पष्ट पारेको छ ।

सीओईको म्याद ६ महिना भए पनि विद्यार्थीहरुले सीओई निस्केको ३ महिनाभित्रमा पनि आफू स्कुल वा कलेजमा जान नसक्ने भएमा सो बारेमा जानकारी गराउनुपर्ने जापानको न्याय मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु