महाकाली सिँचाइ आयोजना शुरु भएकै ४० वर्ष, कहिले सकिन्छ भगवान भरोसा
काठमाडौं । कञ्चनपुर र कैलालीको केही भूभागमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ ४० वर्ष पहिले शुरु भएको महकाली सिँचाइ आयोजना हालसम्म पनि अलपत्र अवस्थामा रहेको छ ।
आयोजनाको विषयलाई लिएर धेरै पटक राजनीतिक नेतृत्वले निर्वाचन समेत जिते, त्यसैलाई निर्वाचनको एजेण्डा समेत बनाए ।
स्थानीय सुक्खा क्षेत्रमा सिँचाइ सुविधा पुर्याएर कृषि उपजको वृद्धि गर्ने तथा कृषि उद्यमशीलता बढाउने लक्ष्य राखिएको भएपनि आयोजनाको सम्वद्ध पक्षले ध्यान नदिँदा आयोजना समस्यामा परेको छ ।
सुदूरपश्चिममा कृषि उपजको वृद्धि गर्दै आर्थिक समृद्धिको लक्ष्य सहित शुरु गरिएको आयोजना चरम समस्यामा परेको छ ।
आयोजनालाई ध्यान दिनुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समेत ध्यान दिएको छैन । जसका कारण स्थानीयबासी महाकालीको पानी हेरेर सुक्खा खेतमा पसिना बगाउन बाध्य छन् ।
आयोजनाको समस्या समाधानका लागि स्थानीयबासीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवादेखि हालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको पटकपटक ध्यानाकर्षण गराएको भएपनि काम भने हुन सकेको छैन ।
आयोजना २०३८ सालदेखि शुरु भएको हो । पहिलो र दोस्रो चरणको काम पछि हाल तेस्रो चरणको काम भइरहेको छ ।
महाकाली सन्धि अनुसार नेपालले कूल १ हजार क्युसेक पानी पाउनुपर्ने छ । तर नहर निर्माणमा भइरहेको ढिलाइका कारण नेपालले लामो समयदेखि सन्धि अनुसार नै पानी पाउन सकेको छैन । नेपाल सरकारको लापरबाही र भारतको मिचाहा प्रवृतिका कारण सन्धि अनुसार पाउनुपर्ने पानी नेपालले पाएको छैन ।
पहिले निर्माण गरिएको आयोजनाको सिँचाइ नहर कामै नलाग्ने गरी बिग्रिएको छ । धेरै जसो स्थानमा पानी चुहिने र खेतियोग्य जमिनमा बालुवाको थुप्रो लागेको छ । लालपुर्जामा जमिन भए पनि कृषि उपज उत्पादन गर्न नसकेको स्थानीयबासीको गुनासो छ ।
कूल २७ अर्ब लागत रहेको तेस्रो चरणको काम सन् २०२२ सम्म सक्ने लक्ष्य राखिएको भएपनि हालको काम गर्ने शैली र तरिकाका कारण सो आयोजना सम्पन्न हुन अझै कति समय लाग्ने हो त्यसको कुनै ठेगान छैन ।
जनताले सिँचाइ सुविधा पाउने कुरा त कल्पना भन्दा बाहिरको विषय बनेको छ । आयोजनाको कामलाई गति दिने तर्फ कुनै पनि निकायले ध्यान दिएका छैनन् ।
लागत र समय बढाउने मेसोमात्रै भएको भन्दै प्रतिनिधिसभाको बैठकमा समेत स्थानीय सांसदले कुरा उठाएका थिए । उनीहरुको कुराको समेत सरकारले कुनै सुनुवाई गरेको छैन ।
पहिलो र दोस्रो चरणमा निर्माण भएका नहरको मर्मत मात्रै समयमा गरिएको भए स्थानीय पानी उपभोग गर्न पाउँथे । तर त्यसलाई समेत ध्यान दिइएको छैन ।
सोही क्रममा तेस्रो चरणको काम पनि भइरहेको छ । तर कार्यस्थलमा दक्ष जनशक्तिको अभाव पनि उस्तै रहेको छ । यस्तै निर्माण सामग्रीको अभाव तथा उच्च सरकारी निकायको अनुगमनको व्यवस्था नहुँदा आयोजना समस्यामा परेको हो ।
आयोजनाका पदाधिकारी पनि हालकै अवस्थामा काम भए आयोजना सम्पन्न हुन कति समय लाग्छ स्पष्ट शब्दमा भन्न सक्ने अवस्थामा छैनन ।
आयोजनाका इन्जिनियर करुणाखर पन्तका अनुसार हाल निर्माण भइरहेको नहर १५३ किलोमिटर लामो रहेको छ । चालु आवको अन्त्यसम्म मात्रै २८ किलोमिटर मूल नहर बन्ने अवस्था छ । यस्तै सहायक नहर बनाउने काम पनि बाँकी छ । स्थानीयबासी नहर समयमै बनिदिए सुक्खा खेतमा सिँचाइ सुविधा गर्न पाउने आशमा छन् । तर त्यसलाई पूरा गर्ने तर्फ आवश्यक पहल हुन सकेको छैन ।