धरहरा पुनःनिर्माणले गति लियो, ३३ प्रतिशत भौतिक प्रगति ८५ करोड सकियो



काठमाडौं । भूकम्पले सबैभन्दा बढी प्रभाव पारेको सांस्कृति सम्पदामध्ये महत्वपूर्ण मानिएको ऐतिहासिक धरहरा पुनःनिर्माणले गति लिएको छ ।

हालसम्म धरहरा पुनःनिर्माणले ३३ प्रतिशत भौतिक प्रगति हासिल गरेको सम्बद्ध आयोजनाले जनाएको छ ।

धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिनाभित्रमा सक्ने गरी निर्माण तीव्र गतिमा अघि बढेको छ । हाल नवौ तलाको काम जारी छ । नवौ तलासम्मको हिसाब गर्दा ३३ प्रतिशत निर्माण सकिएको हो ।

हालसम्म ८५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी दिए ।

दुई वर्षमा सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले पुनःनिर्माणको जिम्मा लिएको छ । आयोजनाको कूल लागत ३ अर्ब ४८ करोड रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनःनिर्माणको शिलान्यास गरेका थिए ।

हाल धरहरा पुनः निर्माणमा दैनिक १५० कामदार निर्माणमा खटिएका छन् । पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ ।

लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

बगैँचा, संग्राहलय, रंगिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने वा बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ ।

पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु