गाउँगाउँमा सहकारी खोज्दै स्थानीय सरकार



धुलिखेल । अहिले स्थानीय सरकार गाउँगाउँमा सहकारी संस्था खोज्नमा नै व्यस्त भएको छ ।

सहकारी पत्रकार समाजले आयोजना गरेको स्थानीय सहकारी विषयक छलफल कार्यक्रममा स्थानीय तहका कर्मचारीले गाउँ गाउँमा सहकारी सस्था खोज्ने कार्य शुरु भएको बताए ।

कार्यक्रममा नमोबुद्द नगरपालिकाका अधिकृत विमल कोइरालाले १०४ वटा सहकारी दर्ता भएको र सबै सञ्चालनमा नआएको बताए ।

यो पालिकामा दर्ता भएका आधा सहकारी पनि सञ्चालनमा आएका छैनन्, ती सहकारीको खोजी कार्य जारी छ । हामी ती सहकारी कहाँकहाँ छन भनेर गाउँ गाउँमा खोज्दै छौ,’ उनले भने ।

कार्यक्रममा उनले नगरपालिकामा एउटा सहकारी मर्ज भएको र अन्य सहकारीमा मर्ज आवश्यक रहेको बताए ।

कोइरालाले जिल्लाका सहकारीमा दोहोरो सदस्यताको समस्या रहेको बताए । ऐनले यस्तो हुन नहुने भनेपनि अहिलेसम्म नरोकिएको बताए । दोहोरो सदस्यता रोक्नको लागि केन्द्रले नै निर्देशन दिन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले जिल्लाका कृषि सहकारी कसरी चलेका छन् भनेर अझै पनि थाहा पाउन नसकेको बताए ।

उनले सहकारी सस्था दर्ता भए पनि कुनैपनि विवरण पेश नभएको बताए । दर्ता भएका १३७ सहकारीमा १५ वटा मात्रै सुचिकरण हुन आएका बताए । अधिकारीले सहकारीलाई सुचिकरणमा आउन पटकपटक आग्रह गर्दा पनि सुचिकरण हुन नआएको गुनासो गरे ।

आफ्नो पालिकामा एउटा सहकारी मर्ज भएपनि वैज्ञानिक कृषि सहकारी भने विघटनको लागि निवेदन दिएको जानकारी गराए । उनले आफ्नो पालिकामा सहकारीको अनुगमनमा आर्थिक अभावको समस्या रहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका सचिव दिलिप शर्माले जिल्लाका केही सहकारीमा सामान्य समस्या रहेको बताए ।

उनका अनुसार पछिल्लो समयमा सम्पत्ति शुद्धिकरण विभागबाट सहकारी विभागमार्फत् सम्पत्ति शुद्धिकरणका लागि पत्र आउने गरेको जानकारी गराए ।

शर्माका अनुसार स्थानीय तहमा सहकारी दर्ता गर्दा ६ देखि १० हजारसम्म लाग्ने गरेको बताए । यसलाई घटाउन आवश्यक रहेको बताए ।

शर्माका अनुसार स्थानीय जनप्रतिनिधिलाई ऐन नियमको जानकारी नहुँदा समस्या भएको बताए ।


क्लिकमान्डु