गण्डकी विकास बैंकले एकैसाथ ४ शाखा कार्यालयको उद्घाटन गर्यो
काठमाडौं । गन्डकी विकास बैंकले काठमाडौंमा एकैसाथ ४ वटा शाखा उद्घाटन गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकले जोरपाटी, बालुवाखानी, जरंखु र भक्तपुरको थिमीमा शाखा उद्घाटन गरेको हो ।
भक्तपुरको थिमी शाखाको समुद्घाटन बैंकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने जोरपाटी शाखा, बालुवाखानी शाखा र जरंखु शाखाहरुको समुद्घाटन क्रमशः बैंकका सञ्चालकत्रय बासुदेव त्रिपाठी, नारायणबहादुर बाँनिया र किशोर ओझाले गरेका थिए ।
बैंकको मुलुकभर ९५ स्थानमा शाखा सञ्चालनमा छन् ।
भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भए पनि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्र्दै मुलुकभर ठूुलो बैंकिङ सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए ।
बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक ३ वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रियस्तरको विकास बैंक भएको र लगातार यसले लगानिकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको बताए ।
बैंकको कुल चुक्तापूँजी २ अर्व ७५ करोड रुपैयाँ छ । पुस मसान्तसम्ममा कुल निक्षेप ३४ अर्ब २५ करोड रुपैयाँ संकलन गरी २७ अर्व ५३ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।
बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा एटीएमबाट निरन्तर सेवा प्रदान गर्दै आएको छ । बैंकले गत आवसम्मको संचित मुनाफाबाट सेयरधनीलाई १७.३२ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।