सेयर बजारमा नेगेटिभ सर्किट लागेपछि लगानीकर्ताले कारण खोज्न गरे माग



काठमाडौं । सेयर लगानिकर्ता संघ नेपालले अप्रत्याशित रूपमा पुँजीबजारमा आएको गिरावटको विश्लेषण गरी त्यसका कारणहरू खोज्न माग गरेको छ ।

सोमबारको कारोबारमा नकारात्मक सर्किट लागेर २ घन्टा २९ मिनेटमा नै कारोबार बन्द भएपछि संघले बिज्ञप्ती जारी गर्दै बजारमा अप्रत्याशित रुपमा आएको गिरावटको कारण खोज्न आग्रह गरेको छ ।

यसमा सम्बन्धित निकायले समाधानका उपायहरू अवलम्बन गर्न अत्यन्त जरूरी भइसकेको र सम्बन्धित निकायबाट बजार विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कार्यहरू कार्यान्वयन गर्न ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराएको छ ।

सोमबार अप्रत्याशित रुपमा आएको गिरावटले संघ अत्यन्त चिन्तित भएको भन्दै लामो समयको पुँजी बजारको गिरावटसँगै भर्खर पाइला सार्न लागेको बजारमा यो गिरावटले लगानीकर्तामा आएको उत्साह र विश्वासलाई ठूलो ठेस लागेको संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

यसै सन्दर्भमा नागरिक लगानी कोष लगायतका कम्पनीलाई मार्केट मेकरका रुपमा कारोबार गराउने सरकारी कदमलाई कार्यान्वयनमा ल्याउने, अल्पकालिन र दीर्घकालीन लगानीकर्ताहरूको वर्गीकरण गरी दीर्घकालीन लगानीकर्ताहरूलाई सहुलियतको घोषणा गर्ने जस्ता कार्यहरू तत्काल कार्यान्वयन गर्न माग समेत गरेको छ ।

आगामी दिनमा यस्ता प्रवृतिहरू दोहोरिनबाट रोक्न सकिन्छ कि भन्ने यो संघको धारणा रहेको र सेयर खरिद बिक्री गर्दा आवेग र लहैलहैमा नलागी, आफ्नो लगानीलाई सुझबुझका साथ स्व–विवेक प्रयोग गरी गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु