हिमालय एयरलाइन्सले नयाँ विमान ल्यायो, २ वर्षभित्र थप २ वटा ल्याउने



काठमाडौं । हिमालय एअरलाइन्सले ५औं वार्षिकउत्सवको अवसरमा नयाँ विमान थप गरेको छ । कम्पनीले गत शुक्रबार नयाँ विमान ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ ।

कम्पनीका उपाध्यक्ष तथा अपरेशनस्, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएका हुन् ।

लामो पखाईमा रहेको नयाँ विमान एमएसएन ९०२०, दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भएको थियो । नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्स्सँग तीन वटा एअरबस ए३२०–२१४ र एउटा एअरबस ए३१९–११५ गरी ४ वटा विमान भएका छन् ।

हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान भएको कम्पनीको भनाइ छ । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारोबडी, २ इन्जिनयुक्त जेट विमान हो । जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ ।

कुल ८ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जिन क्षमता छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ ।

हिमालय एअरलाइन्सले मध्यपूर्वी मुलुकहरुमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । यो नयाँ विमान ए ३१९ थप गरेसँगै एअरलाइन्स्ले मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार समृद्ध बनाउने योजना बनाएको छन् ।

एअरलाइन्स्का अध्यक्ष श्री झोउ इन्योङले सन् २०२० मा हिमालय एअरलाइन्स्को सञ्जाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने एअरलाइन्स्को रणनीति अनुरुप यो कदम भएको बताए ।

उनले यस क्षेत्रकै उत्कृष्ट एअरलाइन्स्को रुपमा स्थापित गरी नयाँ उचाईमा पु¥र्याउने परिकल्पना गरेको बताए । उनले विमान थप गर्ने योजना अन्तर्गत सन् २०२१ सम्म ए ३१९ का २ वटा विमान थप गरिने बताए ।

कम्पनीका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीले ए३१९ को प्रवेश, संस्थाको विमान थप गर्ने योजनामा एउटा कोसेढुंगा भएको बताए ।

‘क्षेत्रिय समृद्धिका लागि हवाई सञ्जाल विस्तार’ भन्ने हाम्रो प्रमुख सिद्दान्तलाई यो कदमले थप बल प्रदान गरेको छ । हालै भई राखेको उडान सञ्जालमा थप सेवा, सरल उडान सञ्जाल तथा नयाँ गन्तव्यहरुमा वृद्धिजस्ता हिमालय एअरलाइन्स्को उल्लेखनीय उपलब्धीहरुका निम्ति सन् २०२० साक्षी बन्नेछ,’ उनले भने ।

हिमालय एअरलाइन्स्ले सन् २०१६ मे ३१ बाट ए३२०–११४ सिरिजको १५८ सिट भएको विमानका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो ।

चार वर्षभन्दा कम समयको अन्तरालमै एअरलाइन्स्ले ६ वटा देशका १० वटा गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने निजी विमान संस्थाको लागि यो एक ठूलो उपलब्धि हो ।

एअरलाइन्स्ले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुईयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ ।

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो ।


क्लिकमान्डु