अन्तर्राष्ट्रिय उडान रोक लगाउने विषयमा २ दिनभित्र प्रतिवेदन पेश गर्न पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम बढेसँगै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई (क्यान)लाई २ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योेगेश भट्टराईले आइतबार कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको गर्न अन्तर्राष्ट्रिय उडान रोक्नबारे प्रतिवेदन पेश गर्न क्यानलाई निर्देशन दिएका हुन् ।

‘यसक्रममा विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँग समेतको छलफलको आधारमा नेपालले उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र संक्षिप्त प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणले पेश गर्ने,’ निर्देशनमा भनिएको छ ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य परीक्षणका लागि कार्यदल गठन गर्ने समेत निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले पर्यटन सचिव, सह सचिवहरु, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, क्यानका महानिर्देशक, नेपाल वायुसेवा निगमका नि. महाप्रबन्धक, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख, अध्यागमन विभागका महानिर्देशकलगायत सरोकारवाला निकायका उच्च अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले दिएका ८ बुँदे निर्देशन
१) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध तत्काल मिलाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक देवचन्द्रलाल कर्ण संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. हेमन्तचन्द्र ओझा, त्रिवि अध्यागमन कार्यालयबाट निर्देशक राजेश पन्थी, एअरलाइन्स अपरेटर कमिटिबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने । यस कार्यदलले स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी आजै तयारी गर्ने गराउने ।

२) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट आउने यात्रुको स्वास्थ्य जाँचको डेस्क पार गरी जानुपर्ने प्रावधान सम्बन्धी सूचनामूलक जानकारी अनिवार्यरुपमा जहाज अवतरणको क्रममा अन बोर्ड र आगमन तथा प्रस्थान कक्षबाट निरन्तररुपमा प्रवाह गर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तत्काल मिलाउने ।

३) सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रबन्धका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गर्न उक्त मन्त्रालयलाई अनुरोध गर्ने ।

४) यस भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँग समेतको छलफलको आधारमा नेपालले उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र संक्षिप्त प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणले पेश गर्ने ।

५) नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्चमा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगन गर्ने तथा मार्च तेस्रो हप्तामा यसको समीक्षा गरी पेश गर्ने । नेपालको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्ने ।

६) नेपालको पर्यटन प्रर्बद्धनका लागि बैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशिल समूहले देशगत सूचनाहरु अध्यावधिक राखी आवश्यक आन्तरिक तयारी गर्ने ।

७) नेपाल वायुसेवा निगमबाट जापानको नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेको उडान शुरुवातमा दुवै मुलुकमा कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने ।

८) नेपाली नागरिकको अन्तर्राष्ट्रिय यात्रा सम्बन्धमा ट्राभल एड्भाइजसरीको सम्बन्धमा आवश्यक कार्य हुन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने ।


क्लिकमान्डु