एनओसीको बैधानिकता अध्यागमनमै जाँचिने, निर्दोेष विद्यार्थी विमानस्थलबाट फर्कन नपर्ने



काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीले लिने ‘नो अब्जेक्सन लेटर’ (एनओसी)को वैधानिकता अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागले समेत परीक्षण गर्न सक्ने भएको छ ।

यो परीक्षण शुरु भएपछि एनओसी नक्कली भएको आशंकामा उच्च शिक्षाका लागि विदेश जाने निर्दोष विद्यार्थीहरु फर्कनुपर्ने छैन ।

शिक्षामन्त्रालय छात्रवृत्ति शाखाका उपसचिव गिरवान थापाले सफ्टवेयर लागू भएपछि कति विद्यार्थी विदेश पढ्न गए भन्ने यथार्थ जानकारी हुने र विद्यार्थीको एनओसी सक्कली वा नक्कली के हो अध्यागमन मै परीक्षण गर्न सकिने जानकारी दिए ।

‘हालसम्म एनओसी परीक्षण गर्नका लागि अध्यागमनमा सफ्टवेयर छैन, जसले गर्दा समस्या आइरहेको छ अब यो सफ्टवेयर लागू भइसकेपछि त्यो समस्या हट्छ,’ उनले भने ।

अध्यागमन विभागका महानिर्देशन ईश्वरराज पौडेलले शिक्षा मन्त्रालयले त्यसमा काम गरिरहेको र अब छिट्टै विद्यार्थीले लिने एनओसी परीक्षण गर्न सकिने बताए ।

‘विमानस्थललगायत सबै अध्यागमन कार्यालयमा नयाँ सफ्टवेयर लागू भइरहेको छ, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको हकमा शिक्षामन्त्रालयले काम गरिरहेको छ, सम्भवतः १५ दिनभित्र उक्त सफ्टवेयर लागू भइसक्ने जानकारी आएको छ,’ पौडेलले भने ।

सफ्टवेयरमा काम गरिरहेका शिक्षा मन्त्रालयका कम्प्युटर अधिकृत रोशन रेग्मीले आगामी सोमबारदेखि तथ्यांक संकलन र एनओसी परीक्षण गर्न मिल्ने सफ्टवेयर विमानस्थलमा राखिने बताए ।

‘शुरुमा हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा विद्यार्थीको एनओसी परीक्षण गर्न मिल्ने र कति विद्यार्थी अध्ययनका लागि विदेश गए भन्ने यकिन तथ्यांक राख्न मिल्नेछ,’ उनले भने ।

हालसम्म कति विद्यार्थी विदेश अध्ययनका लागि गए भन्ने संख्या शिक्षा मन्त्रालयले जारी गर्ने एनओसीको संख्याका आधारमा मात्रै मान्दै आइएको छ ।

तर एनओसी लिए पनि कैयन विद्यार्थीहरु भिसा नलाग्दा विदेश जान सक्दैनन् । सरकारले अध्यागमनमै त्यस्तो विवरण राख्ने व्यवस्था नगर्दा त्यसको यकिन तथ्यांक आउन सकेको छैन ।

तर अब अध्यागमन मै सफ्टवेयर राख्दा एनओसी लिएकामध्ये कति विद्यार्थी विदेश गए भन्ने यकिन तथ्यांक आउनेछ ।

केही दिन अघि मात्रै अध्यागमन कार्यालयबाट नक्कली एनओसी बोकेको आशंकाका आधारमा ५८ जना विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका थिए । जसमा केही नक्कली एनओसी बोक्नेहरु थिए भने केही सक्कली एनओसी बोक्नेहरु पनि थिए ।

विमानस्थलमा एनओसी जाँच्ने सफ्टवेयर नहुँदा उक्त समस्या आएको थियो ।

शिक्षा मन्त्रालयका इन्जिनियर रेग्मीका अनुसार एक महिनाभित्रमा विद्यार्थीले एनओसीका लागि अनलाइनबाट फारम भर्न सक्ने गरी सफ्टवेयर निर्माण गर्न लागिएको बताए ।

उनका अनुसार विद्यार्थीको कक्षा १२ सम्मको तथ्यांक रजिष्ट्रशन नम्बर र पासपोर्टका आधारमा मात्रै सफ्टवेयरमा प्राप्त गर्न सकिनेछ । भने स्नातक तहभन्दा माथिल्लो तहका लागि विभिन्न विश्वविद्यालयसँग समन्वय गर्नुपर्ने हुँदा ढिलाइ हुने उनको भनाइ छ । यद्यपि विद्यार्थीले पासपोर्ट नम्बरका आधारमा फारम भर्न भने सक्ने गरी सफ्टवेयर निर्माण गरिनेछ ।


क्लिकमान्डु