वस्तुगत उपाध्यक्ष उम्मेद्वार उमेशलाल श्रेष्ठको उम्मेद्वारीको वैधानिकतामा प्रश्न, औषधी उत्पादक संघमा विवाद



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत तर्फबाट उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका उमेशलाल श्रेष्ठको उम्मेद्वारीको वैधानिकतामा नै प्रश्न उठेको छ । श्रेष्ठको प्रस्ताव रहने भनिएको औषधी उत्पादक संघले प्रस्ताव नगर्ने निर्णय गरेको छ । जसले गर्दा उनले उम्मेद्वारीको प्रस्तावकै नपाउने अवस्था देखिएको छ ।

महासंघमा अहिलेपनि वस्तुगतबाट उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालमा पनि वस्तुगतबाटै उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् । यसको लागि उनी आफु संलग्न भएको औषधी उत्पादक संघले श्रेष्ठको उम्मेद्वारीमा प्रस्ताव नै नगर्ने भएको छ ।

वस्तुगतको उपाध्यक्षमा उम्मेद्वारी दिनको लागि वस्तुगत संघले प्रस्ताव गर्नुपर्छ । यसअघि उनलाई औषधी उत्पादक संघले प्रस्ताव गरेको थियो ।

‘यो पटक संघले उपाध्यक्षको लागि श्रेष्ठको नाममा प्रस्ताव गर्ने छैन,हामीले समर्थनको पत्र दिने छैनौ,’संघका एक सदस्यले क्लिकमाण्डूसँग भने । उमेशलाल निकट स्रोतले पनि अहिलेसम्म उपाध्यक्षको लागि संघको प्रस्ताव आउन नसकेको कुरा स्वीकार गरेको छ ।

संघका बहुमत सदस्य श्रेष्ठको उम्मेद्वारीलाई प्रस्ताव र समर्थन नगर्ने पक्षमा छन् । अघिल्लो पटकको निर्वाचनमा महासंघको वस्तुगत उपाध्यक्ष भएरपनि खुलेर प्रज्वलजंग पाण्डेको पक्षमा भोट मागेको कारण श्रेष्ठको विरुद्द औषधी उत्पादक संघमा श्रेष्ठ विरुद्द माहोल बनेको हो ।

‘महासंघको उपाध्यक्ष भएरपनि संघको चुनावमा गरेको चलखेलको कारण श्रेष्ठको विपक्षमा माहोल बनेको हो,जसले गर्दा अहिलेसम्मको स्थितीमा श्रेष्ठलाई समर्थन गर्ने सम्भावना नै छैन,’संघ निकट स्रोतले भन्यो ।
संघको निर्वाचनमा ५ मतले श्रेष्ठले समर्थन गरेका पाण्डे पराजित भएर जि नारायण श्रेत्री चुनिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चैत २८ र २९ गते निर्वाचन हुँदैछ । यो पटकको साधारणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् । बरिष्ठ उपाध्यक्षमा अहिलेका एशोसियट उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधानले निर्वाचन लड्ने घोषणा गरेका छन् । वस्तुगतमा उमेशलाल श्रेष्ठ विरुद्द अन्जन श्रेष्ठले उम्मेदारी दिने तयारी गरेका छन् ।


क्लिकमान्डु