राष्ट्र बैंकको निर्देशन विपरीत बैंकहरुले कल डिपोजिट एक चौथाईसम्म पुर्याए, कुनको कति ?



काठमाडौं । बैंकहरुले कुल डिपोजिटमा कल डिपोजिटको हिस्सा एक चौथाईसम्म पुर्याएका छन् ।

आधाभन्दा वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा कल डिपोजिट १० प्रतिशतदेखि २५.१५ प्रतिशतसम्म पुर्याएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको अर्ध वार्षिक मौद्रिक नीति समीक्षामार्फत् बैंकहरुलाई २०७७ असार मसान्तसम्म कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा कम कायम गर्न निर्देशन दिएको थियो ।

तर राष्ट्र बैंकको निर्देशन विपरीत अधिकांश वाणिज्य बैंकहरुले कल डिपोजिट बढाएको तथ्यांकले देखाएको छ ।

पुस मसान्तसम्म १६ वटा वाणिज्य बैंकले कल डिपोजिट ११.०९ प्रतिशतदेखि २४.१५ प्रतिशत पुर्याएका छन् । बाँकी ११ वटा वाणिज्य बैंकहरुल भने कल डिपोजिटको हिस्सा १.९२ प्रतिशतदेखि ९.७९ प्रतिशत कायम राखेका छन् ।

जसमा सबैभन्दा धेरै एनसीसी बैंकले कुल डिपोजिटको हिस्सा २४.१५ प्रतिशत पुरयाएको छ भने कृषि विकास बैंकको सबैभन्दा थोरै कल डिपोजिट १.९२ प्रतिशत छ ।

औसतमा हेर्दा बैंकहरुको कल डिपोजिट ११.७६ प्रतिशत छ ।

२७ वटा वाणिज्य बैंकको कल डिपोजिटको सूची

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमा कुल ३० खर्ब ६२ अर्ब २१ करोड २५ लाख रुपैयाँ डिपोजिट रहेकोमा ३ खर्ब ३७ अर्ब १७ करोड रुपैयाँ कल डिपोजिट छ ।

राष्ट्र बैंकले बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम पनि बढी निश्कर्ष निकाल्दै गत आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कल डिपोजिटको हिस्सा घटाउन निर्देशन दिएको थियो ।

यसअघि राष्ट्र बैंकले गत जेठ ९ गते निर्देशन नै जारी गरी २०७७ असार मसान्तसम्ममा कुल डिपोजिटमा कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा बढी नराख्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले दिएको समयसीमा सकिन ४ महिना बाँकी छ, तर अधिकांश बैंकहरुले कल डिपोजिट घटाउन सकेका छैनन् ।

तथ्यांक अनुसार एनसीसी बैंक कल डिपोजिटको हिस्सा बढी छ । कुल ७६ अर्ब ४० करोड ९० लाख रुपैयाँ डिपोजिटमध्ये कल डिपोजिट २४.१५ प्रतिशत अर्था्त १८ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ छ ।

त्यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको कुल ८१ अर्ब १० करोड ९४ लाख रुपैयाँ डिपोजिटमा २०.८० प्रतिशत अर्थात् १६ अर्ब ८६ करोड ७२ लाख रुपैयाँ कल डिपोजिट छ ।


क्लिकमान्डु