अब खल्तीका ग्राहकले भाटभटेनी मनी ट्रान्सफरमा सोझै रकम पठाउन सक्ने



काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुपबीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

भाटभटेनी ग्रुपद्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनालजंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले कान्तिपथस्थित भाटभटेनी मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् ।

सम्झौताअनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत् उक्त पैसा झिक्न सकिनेछ ।

सम्झौतासँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याउने छ । उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।

यसरी पैसा पठाइसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाइलमा एसएमएसमार्फत् एउटा पिन प्राप्त गर्नेछन् । प्राप्तकर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।

यसका साथै अब खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्टमार्फत् खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

भाटभटेनी ग्रुपसँगको उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले आफू यस सम्झौताबाट उत्साही भएको बताए । उनले प्रयोगकर्तालाई भुक्तानी गर्न तथा रकम पठाउन सहज भएको समेत बताए ।

त्यस्तै, भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनालजंग कार्कीले खल्ती जस्तो एक फिन्टेक स्टार्टअपसँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताए । उनले वालेट एपबाटै पैसा पठाउने र भाटभटेनी सुपरमार्केट तथा एजेन्टमार्फत् पैसा निकाल्ने अब ग्राहकलाई सहज भएको बताए ।

हाल खल्तीका प्रयोगकर्ताको संख्या १० लाखभन्दा बढी छ ।


क्लिकमान्डु