खेतान र राणा समूहले हिमालयन बैंकको संस्थापक सेयर साधारणमा परिवर्तन गर्ने



काठमाडौं । हिमालयन बैंकले ३० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व बनाउने भएको छ । त्यसका लागि यसै वर्ष १५ प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिवर्तन (कन्भर्जन) गरिने भएकोछ ।

हाल बैंकमा १५ प्रतिशत मात्रै सर्वसाधारणको सेयर स्वामित्व छ । राष्ट्र बैंकले कम्तिमा ३० प्रतिशत सर्वसाधारणको स्वामित्व बनाउन निर्देशन दिएपछि खेतान समूह र राणा समूहले आफ्नो नाममा भएकोमध्ये निश्चित प्रतिशत सेयर साधारणमा परिवर्तन गर्ने भएका हुन् ।

खेतान समूहका तर्फबाट चन्द्रप्रकाश खेतानको सेयर धेरै छ भने राणा समूहबाट हिमालयन समशेर जबरा, अशोक राणा लगायतसँग छ ।

खेतान समूह आफूसँग भएको सबै सेयर साधारणमा परिवर्तन गर्न पनि तयार रहेको छ भने राणा समूह पनि आफूसँग भएकोमध्ये अधिकांश संस्थापक सेयर साधारणमा परिवर्तन गर्न तयार छ ।

खेतान समूहसँग १२ प्रतिशत र राणा समूहसँग ११.८३ प्रतिशत संस्थापक सेयर छ ।

‘खेतान समूहको धेरैजस्तो संस्थापक सेयर साधारणमा परिवर्तन हुन्छ, राणा समूहको २/३ प्रतिशत मात्रै परिवर्तन हुन्छ,’ बैंक स्रोतले भन्यो ।

मनोजबहादुर श्रेष्ठको समूहको २० प्रतिशत संस्थापक सेयर छ । श्रेष्ठ २७ वर्षदेखि बैंकको सञ्चालक थिए । केही दिनअघि भएको साधारणसभाबाट मनोजबहादुर बाहिरिए भने उनका भाई प्रचण्ड श्रेष्ठ सञ्चालकमा चुनिए । श्रेष्ठ समूहले भने संस्थापक सेयर साधारणमा परिवर्तन नगर्ने भएको छ ।

ज्योति ग्रुप, पाण्डे ग्रुप लगायतको संस्थापक सेयर निकै कम छ ।


पुष्प दुलाल