पाइलटले सामूहिक राजीनामा दिएपछि नेपाल एयरलाइन्सले माग्यो ४७ जना पाइलट



काठमाडौं । गत माघ ३ गते चित्त बुझ्दो पारिश्रमिक नदिएको र विदेशी पाइलटभन्दा कम सुविधा दिएको भन्दै २५ जनाभन्दा बढी पाइलटले सामूहिक राजीनामा दिएपछि नेपाल वायू सेवा निगमले ३४ जना पाइलटका लागि खुला विज्ञापन गरेको छ ।

शुक्रबार विज्ञापन प्रकाशित गर्दै निगमले सिनियर पाइलट २० जना, जुनियर पाइलट १४ र सिनियर को पाइलट १३ जना गरी कुल ४७ जना पाइलटका लागि विज्ञापन गरेको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काले नियमित कार्यतालिका अन्तर्गत विज्ञापन आह्वान गरिएको बताइन् ।

पाइलटले राजीनामा दिएपछि तत्कालिन कार्यकारी अध्यक्ष मदन खरेल राजीनामा दिएर अष्ट्रेलिया गएका थिए । त्यसलगत्तै निगमको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी पर्यटन सचिव केदारबहादुर अधिकारीलाई दिइएको थियो ।

अधिकारीले गत केही दिनअघि मात्रै सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका थिए । उनले पदभार ग्रहण गरे लगत्तै निगमले ठूलो संख्यामा पाइलटसहित अन्य कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।

निगमले विभिन्न पदमा गरी १५९ पदमा विज्ञापन आह्वान गरेको छ । निगमले वरिष्ठ प्राविधिक अधिकृत अटोमोबाइल, वरिष्ठ प्राविधिक अधिकृतसहित लेखा सहायकसम्म पदका लागि विज्ञापन खुलाएको हो ।

इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।


क्लिकमान्डु