चिलिमेका ३ आयोजना सकिनै लागे, ठेकेदारका कारण प्रसारण लाइनको काम कछुवाको गतिमा



काठमाडौं । नेपालका जलविद्युत् आयोजना तथा प्रसारण लाइन निर्माणमा चिनियाँ ठेकेदारहरु आउने र सहभागी हुने क्रम बढी छ । कम मूल्यमा ठेक्का हाल्ने भएकाले नेपालको सार्वजनिक खरीद ऐन अनुसार उनीहरुले नै ठेक्का पाउने गरेका छन् । तर उनीहरुको काम गर्ने शैली भने असाध्यै कमजोर रहेको छ ।

पछिल्ला दिनमा विभिन्न आयोजनामा ठेकेदारका कारण समस्या देखिएका छन् । तोकिएको समयमा काम नगर्ने तथा म्याद थप गर्ने प्रवृत्ति आम जस्तै देखिएको छ । यस्तै भएको छ , एक महत्वपूर्ण प्रसारण लाइन निर्माणमा । नेपालको पायनियर कम्पनीको रुपमा स्थापित चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा एक चिनियाँ ठेकेदारका कारण समस्या देखिएको छ ।

प्रसारण लाइनको कामको मात्रा मात्रै ५५ प्रतिशतको हाराहारीमा रहेको छ । जसका कारण आयोजना सकिने बेलासम्म प्रसारण लाइन निर्माण हुन्छ कि हुँदैन भन्ने आशंका समेत पैदा भएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले रसुवामा ३ वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रसुवागढी र साञ्जेन र तल्लो साञ्जेन जस्ता आयोजनाको निर्माण सकिने चरणमा पुगेका छन् ।

रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १११ मेगावाटको क्षमताको रसुवागढीको भौतिक निर्माण करिब ८५ प्रतिशतको हाराहारीमा पुगेको छ । सो आयोजनाका टेलरेस सुरुङ निर्माणको काम हाल जारी छ । अन्य भौतिक निर्माणको काम करिब सकिन लागेको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन पनि निर्माणको अन्तिम चरणमा छन् । ती आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशुली थ्री बी हव सवस्टेशनमा जोडिन्छ । तर सोही सवस्टेशमा जोडिने प्रसारण लाइन निर्माणको काम भने प्रभावकारी देखिएको छैन ।

आयोजनाको काम सकिन लागेपनि प्रसारण लाइनमा भइरहेको ढिलाईले कतै विद्युत् खेर जाने त होइन भन्ने आशंका समेत पैदा भएको छ ।

ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने प्रसारण लाइन निर्माणमा निर्माण व्यवसायीको लापरवाही भएको भन्दै प्राधिकरणले स्म्बद्ध निर्माण व्यवसायीलाई समेत सचेत गराएको छ । पछिल्लो पटक थपिएको म्याद आगामी चैतमा सकिने भएपनि प्रसारण लाइन निर्माणमा भएको भौतिक प्रगति हेर्दा सो अवधिमा सकिन मुस्किल पर्ने देखिन्छ ।

प्राधिकरणले निर्माण गरिरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत मात्रै भएको सम्बन्धित आयोजनाले जनाएको छ । बाँकी काम कहिले सकिन्छ अहिल्यै भनीहाल्ने अवस्था नरहेको सम्बन्धित आयोजनाको दावी छ ।

प्राधिकरकणका अनुसार सो प्रसारण लाइन निर्माणमा चिनियाँ ठेकेदार पिङ्गाओ एण्ड जेभी रहेको छ । २०७३ पुसदेखि निर्माण सुरु भएको रसुवाको चिलिमेदेखि २२० केभी हब त्रिशूली–३बी सम्मको प्रसारण लाइन शुरुमा वन क्षेत्रको जग्गा प्रयोगमा समस्या देखिदा समसयमा परेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडधुपपछि आयोजनाले गति लिएको थियो । तर निर्माण व्यवसायीको कमजोर कार्यशैलीका कारण प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ ।

प्राधिकरणसँग भएको ठेक्का सम्झौता अनुसार प्रसारण लाइन २०७५ पुसभित्रै निर्माण भइसक्नुपर्ने थियो । सो अवधिमा नसकिएपछि प्राधिकरणले आगामी चैतसम्म सो आयोजनाको म्याद थप गरेको छ । तर सो अवधिमा प्रसारण लाइन निर्माण भइसक्ने अवस्था भने असाध्यै कम छ ।

चिनियाँ कम्पनी पिङगाओ एण्ड जेभीले २ वर्षमा सक्ने गरी ठेक्का लिएको थियो । ठेक्का सम्झौता गरेपनि ठेकेदारले आयोजनाको डिजाइनमा नै लामो समय लगाएको थियो । थपिएको अवधिमा समेत आयोजनाको काम ५५ प्रतिशतको हाराहारीमा हुनुले पनि उसको कार्यक्षमतामा प्रश्न उठेको छ । उता त्रिशुली थ्री सब स्टेशनको काम पनि आशातित रुपमा राम्रो नभएको देखिन्छ । काम भइरहेको भएपनि राम्रो भनिहाल्ने अवस्था नरहेको बताइन्छ ।

सो प्रसारण प्रसारण लाइनको ७८ वटा टावरमध्ये ३२ ठाउँमा जग खन्ने काम मात्रै सकिएको छ । आयोजनाको चिलिमे र त्रिशूलीमा २ वटा सबस्टेसन निर्माण गर्नुपर्नेछ । चिलिमे सवस्टेशनको काम भने ६५ प्रतिशत जति सकिएको बताइन्छ । सो सबस्टेसनको काम २०७७ बैशाखभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।


क्लिकमान्डु