बैंकमा राखेको पैसा २० वर्षसम्म नझिक्दा के हुन्छ ?



काठमाडौं । कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता खोली पैसा राखेको कति वर्ष भयो ? बैंकमा राखेको पैसा हो, चोरी हुँदैन, कसैले खाँदैनन् भनेर तपाईंले २० वर्षसम्म पनि निकाल्नु भएको छैन भने सोच्नुहोस् ।

यसरी २० वर्षसम्म तपाईंले पैसा झिक्नु भएन भने उक्त खातामा भएको रकम निकाल्न लफडा हुन्छ । तपाईंसँग पर्याप्त प्रमाण छैन भने पैसा फिर्ता पाउनुहुन्न ।

‘२० वर्षसम्म लिन बुझ्न नआएको सो रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गरी बैंकिङ विकासमा प्रयोग गरिने छ,’ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)-२०७३ को दफा ११२ को उपदफा ३ को १ मा भनिएको छ ।

बाफियामा भएको यो व्यवस्थालाई परिमार्जन गरेर राष्ट्र बैंकको होइन नेपाल सरकारको खातामा जाने व्यवस्था गर्न प्रस्ताव गर्दै संसदमा प्रस्तुत गरिएको बाफियामाथि छलफल भइरहेको छ ।

‘२० वर्षसम्म लिन बुझ्न नआएमा राष्ट्र बैंकले त्यस्तो रकम नेपाल सरकारको भुक्तानी दायित्व कायम गरी नेपाल सरकारले तोकेको कोषमा जम्मा गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आदेश दिन सक्नेछ,’ बाफियाको संसोधन प्रस्तावमा उल्लेख छ ।

यसरी सरकारले तोकेको कोषमा जम्मा भएको रकम कसैले प्रमाणसहित दाबी गर्न आएमा बैंक तथा वित्तीय संस्थाले फिर्ता गर्नुपर्ने हुन्छ ।

‘कोषमा जम्मा भएको रकम कसैले प्रमाणसहित दाबी गर्न आएमा बैंक तथा वित्तीय संस्थाले त्यस्तो रकम सम्बन्धित निक्षेपकर्तालाई भुक्तानी दिई सोको सोधभर्ना राष्ट्र बैंकमार्फत् रकम नेपाल सरकारसमक्ष माग गर्नुपर्ने छ,’ बाफियाको संसोधन प्रस्तावमा उल्लेख छ ।

अर्थ मन्त्रालयले राष्ट्र बैंकको अधिकार खोस्दै सरकारले तोकेको कोषमा २० वर्षसम्म ननिकालेको पैसा जम्मा गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताव गर्दै संसदमा बाफियाको विधेयक पेश गरेको हो ।


पुष्प दुलाल