वैदेशिक व्यापार घाटा घट्यो, निर्यातमा उच्च वृद्धि



काठमाडौं । पछिल्ला केही महिनायता नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६.१३ प्रतिशत निर्यात बढ्दा ६.०६ प्रतिशतले आयात घटेको छ ।

आयातको तुलनामा अपेक्षित निर्यात बढ्न नसक्दा खर्बौ रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार घाटा खेप्दै आएको नेपालमा केही सुधारको संकेत देखिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म ७ खर्ब २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयत भएकोमा चालु आवको सोही अवधिमा यस्तो आयात ४.०४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ ।

उक्त अवधिसम्ममा २९ अर्ब २४ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात घटेको हो ।

आयातसँगै नेपालको वैदेशिक व्यापार घाटा पनि ६.४५ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आवको सोही अवधिमा यस्तो घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको पुस मसान्तसम्म निर्यात बढेपनि नेपालमा आयात र निर्यातको भारित अन्तर भएको कारण व्यापार घाटा उल्लेख्य मात्रामा घट्न नसकेको देखिन्छ ।

नेपालबाट गत आवको पुस मसान्तसम्म पुस मसान्तसम्म ४५ अर्ब ४१ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएकोमा चालु आवको सोही अवधिमा यस्तो निर्यात २६.१३ प्रतिशतले वृद्धि भएर ५७ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको भन्सार विभागले जनाएको छ ।

गत वर्षभन्दा नेपालले उक्त अवधिमा ११ अर्ब ८६ करोड ७२ लाख रुपैयाँ बढीको वस्तु तथा सामान निर्यात गरेको हो ।


क्लिकमान्डु