नेपकम्स अन्तरकलेज फुटसल प्रतियोगिता हुँदै, ३२ टिम सहभागी हुने



काठमाडौं । आगामी बुधबार र बिहीबार नेपकम्स अन्तरकलेज फुटसल प्रतियोगिता हुने भएको छ ।

बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजना गर्ने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने बताइएको छ ।

मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाउनेछन् ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ, जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तीमा ३ खेल खेल्नेछन् । २ दिनसम्म चल्ने प्रतियोगिताका बिजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र सर्टिफिकेट, दोस्रो हुनेले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र सर्टिफिकेट र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।


क्लिकमान्डु