हिमालयनको चीनको चोङसिङमा नयाँ उडान शुरु, चिनियाँ पर्यटक बढ्ने राजदूत होन याङसीको विश्वास



काठमाडौं । हिमालयन एयरलाइन्सले व्यवसाय विस्तारका क्रममा बिहीबारदेखि चीनको चोङसिङमा उडान शुरु गरेको छ । अन्तर्राष्ट्रिय उडानमा एयरलाइन्सको यो १०औं तथा चीनमा मात्रै ५औं गन्तव्य हो ।

यसअघि हिमालयन एयरलाइन्सले चीनको बेइजिङ, गुयाङ,, याङगोन, च्याङसामा उडान गरिरहेको छ । एयरलाइन्सका एड्मिनिस्ट्रेसन भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले अहिले यो गन्तव्इमा सातामा २ दिन उडान गरिनेछ ।

बिहीबार यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होन याङसीले हिमालयन एयरलाइन्सको चोङसिङ उडानले दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने बताइन् ।

साथै, भिजिट नेपाल २०२० लाई सहयोग गर्न र थप चिनियाँ पर्यटक नेपाल ल्याउनका लागि समेत सहयोगी हुने उनको विश्वास छ । हाल चोङसिङ क्षेत्रमा ३ करोड जनसंख्या छ ।

कार्यक्रममा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले चीन नेपाली पर्यटनका लागि महत्वपूर्ण देश भएको भन्दै हिमालयन एयरलाइन्सको यो उडानले यसलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले चीनमा हिमालयनसँगै नेपाल एयरलाइन्सले समेत निकट भविष्यमा उडान गर्ने जानकारी दिँदै भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा समेत चीनबाट प्रत्यक्ष उडान हुनेमा आफू आशावादी भएको बताए ।

भिजिट नेपाल २०२० को अवसर तथा चिनियाँ नयाँ वर्षको अवसरमा शुरु भएको हिमालयन एयरलाइन्सको यस उडानले नेपाल र चीनको पर्यटन विकासमा सहयोग पुग्ने भट्टराईको विश्वास छ ।

हाल हिमालयन एयरलाइन्सले चीनका ५ वटा गन्तव्यसँगै कतारको दोहा, युएईको आबुधावी, बंगलदेशको ढाका, साउदी अरेबियाको दमाम र मलेसियाको क्वालालम्पुरमा नियमित उडान गरिरहेको छ भने निकट भविष्यमा श्रीलंकाको कोलम्बो, यूएइको दुबई, चीनका अन्य गन्तव्य जस्तै अलि, सेन्चेन, सांघाईमा समेत उडान गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु