अब सबै सडक यात्रुमैत्री तथा प्रविधिमैत्री बन्छन्ः मन्त्री नेम्बाङ



कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले सरकार सुविधा सम्पन्न, यात्रुमैत्री तथा प्रविधिमैत्री सडक पूर्वाधार विकासमा केन्द्रित रहेको बताएका छन् ।

महेन्द्रनगरस्थित सहिद भीमदत्त बसपार्कको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री नेम्बाङले यातायात क्षेत्र व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका समन्वयमा संघीय यातायात कानून निर्माण भइरहेको बताउँदै सातै प्रदेशका यातायात विकास मन्त्री, सचिव र सरोकारवालासग समेत छलफल प्रारम्भ गरिएको उल्लेख गरे ।

उनले यातायातका कम्पनी, स्थिर पूँजी रुपान्तरण तथा भाडा समायोजनका विषयलाई समेत चाडै व्यवस्थित गरिने जानकारी दिए ।

सरकारले अघि सारेको लक्ष्य तथा कार्यक्रम पुरा गर्ने आफ्नो दायित्व पूरा गरी छाड्ने प्रतिबद्धता समेत जनाए ।

उनले भारतीय सहरसँग नजिकका दूरीमा भीमदत्तनगर बसपार्क रहेकाले बसपार्कको निकै महत्व रहेको उल्लेख गरे ।

४०० बस अट्ने क्षमता रहेको यो बसपार्क नगर विकास कोषको ७ करोड ऋण सहयोगमा आधुनिकिकरण गरिएको हो ।

मन्त्री नेम्बाङले आजै भीमदत्त पन्त नगरपालिकाको स्थापना दिवसको उद्घाटन् समेत गर्नु भएको छ ।

उनले नगरपालिकाको स्थापना दिवशलाई सम्बोधन गर्दै सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पूरा गर्न पूर्वाधार विकास विना सम्भव नभएकाले सरकार सबैखाले पूर्वाधार विकासमा उच्च प्राथमिकताका साथ गरिरहेको बताए ।

मन्त्री नेम्बाङले महाकाली नदीमा निर्माणाधिन ८१ मिटर लामो चार लेनको पुल निरिक्षण गर्नुका साथै भीमदत्त नगरपालिका १९ स्थित इकापोर्कको शिलान्यास र नगरपालिको वडा १, ३, ४, ७, ८, ९ र १० जोड्ने जैविक तथा धार्मिक सडकको अवलोकन समेत गरेका थिए ।


क्लिकमान्डु