महासंघमा बरिष्ठ उपाध्यक्षका लागि रोचक भिडन्त हुने, चन्द्र र किशोर टिमसहित मैदानमा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैतमा हुने साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदको लागि रोचक भिडन्त हुने देखिएको छ ।
साधारणसभापछि महासंघको अध्यक्ष अहिलेको विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुने छन् ।

गोल्छालाई अध्यक्ष हुन नदिनको लागि विधान संसोधन गर्न विशेष साधारणसभा बोलाए पनि अन्तिममा त्यो स्थगित भयो । महासंघमा शेखर अध्यक्ष बन्ने कन्फर्म भयो ।

अध्यक्षमा निर्वाचन नहुने भएपछि सबैको ध्यान महासंघमा अहिले बरिष्ठ उपाध्यक्षतर्फ गएको छ । महासंघले बनाएको विधान अनुसार बीचमा कुनै परिवर्तन नभएमा चैतमा निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष ३ वर्षपछि स्वत अध्यक्ष हुन्छ ।

महासंघको यो पटक बरिष्ठ उपाध्यक्ष पदमा अहिलेका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र अहिलेका एशोसिएट उपाध्यक्ष चन्द्र ढकालबीच रोचक भिडन्त हुने देखिएको छ ।

ढकालले गत महिना आफ्नो गृहजिल्ला बागलुङबाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरे । पछिल्लो समय व्यवसायमा आक्रामक ढंगले अगाडि बढाएको आइएमई समुहका अध्यक्ष ढकाल सबैलाई मिलाएर अगाडि बढ्न सक्ने खुबी भएका छन् ।

३ वर्ष अगाडि बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका प्रधान बिराटनगरमा हुन् । प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा निर्वाचन जितेका प्रमोद प्रधान मेयरको चुनाव लड्न गएपछि विधान अनुसार महासंघमा जिल्ला नगरको उपाध्यक्ष पद खाली भयो । महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको डिजाइन अनुसार नै प्रधान जिल्ला नगरको उपाध्यक्ष बने ।

प्रधानले केही दिनभित्रमा नै बिराटनगरबाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गर्ने तयारी गरेका छन् । बिराटनगरबाट बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा केहीदिनमा गर्ने तयारीमा रहेको प्रधानले बताए ।

‘धेरैले मलाई निर्वाचन लड्दैन भनेर हल्ला गरेका छन्, मैले छाड्नुपर्ने कुनै आधार छैन, महासंघ साना र मझौला व्यवसायीको पनि संस्था हो त्यसलाई अगाडि बढाउन निर्वाचन लड्ने हो,’ प्रधानले क्लिकमाण्डूसँग भने ।

महासंघले चैतको अन्तिम साता साधारणसभा गर्दैछ । यस हिसाबले महासंघको निर्वाचन हुन अब साढे २ महिनाभन्दा बढी समय छ । अहिले बरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीहरुले जिल्ला भ्रमण र जिल्ला तथा नगरमा आउने नेतृत्व परिवर्तनलाई पनि ध्यान दिएका छन् ।

अहिलेसम्मको स्थिति हेर्दा प्यानल बनाएर नै महासंघमा बरिष्ठ उपाध्यक्षको निर्वाचन हुने देखिन्छ ।

ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अहिलेका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ अगाडि आउने देखिएको छ । प्रधानको प्यानलबाट व्यवसायिक समुह लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक तथा अहिलेका कार्यकारिणी सदस्य अन्जन श्रेष्ठ निर्वाचन लड्ने छन् । श्रेष्ठले निर्वाचनको तयारी थालिसकेका छन् ।

अघिल्लो पटक वस्तुगत उपाध्यक्ष निर्वाचन लडेका शंकर पाण्डे पनि निर्वाचन लड्न इच्छुक भने छन् । यस्तै अहिलेको कार्यकार्यरिणी सदस्य कमला श्रेष्ठले पनि वस्तुगत उपाध्यक्ष लड्ने भनेकी छन् । यद्यपी निर्वाचन हुने बेलासम्म उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच नै वस्तुगत उपाध्यक्षमा प्रतिस्पर्धा हुने देखिन्छ ।

एशोसियटमा प्यानल हुने सम्भावना अहिलेसम्मको अवस्थामा न्यून छ । ३ पटक महासंघको कार्यकारिणी सदस्य भएका सौरभ ज्योति यो पटक एशोसिएटमा उपाध्यक्षमा लड्ने घोषणा गरेका छन् । यद्यपी अहिलेका कार्यकारिणी सदस्य साहिल अग्रवाल तथा ज्योत्स्ना श्रेष्ठ समेत उपाध्यक्ष पदमा आंकाक्षी हुन् ।

एशोसिएटका उपाध्यक्ष ज्योतिले प्यानलको रुपमा मुख खोलेका छैनन् । बरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल अहिलेको एशोसिएट उपाध्यक्ष हुँदा उनको होल्ड राम्रो छ । निवर्तमान अध्यक्ष पशुपति मुरारकाको समेत एशोसिएटमा राम्रो पकड मानिन्छ ।

यसअघि नै दुई पटक उपाध्यक्ष पद छाडेको भन्दै सौरभ यो पटक जुनसुकै हालतमा निर्वाचन लड्ने मुडमा छन् ।

महासंघमा अहिलेसम्म सबैभन्दा रोचक तानातान भने जिल्ला नगर उपाध्यक्षको पदलाई लिएर छ । अघिल्लो पटक अन्य पदाधिकारी गोल्छा प्यानलले जित्दा जिल्ला नगरमा भने दिनेश श्रेष्ठ पराजित भएका थिए । यो पटक श्रेष्ठले जिल्ला नगरमा उम्मेद्वारी दिने नै तयारी गरेका छन् । उनलाई आफ्नो प्यानलमा ल्याउन प्रधान र ढकालले दुवै लागेका छन् । दिनेश श्रेष्ठले अहिलेसम्म कुन प्यानलमा लाग्ने भनेर मुख भने खोलेका छैनन् ।

नवलपरासीका गुणनिधि तिवारी तथा हेटौंडामा अरुण सुमार्गीले पनि जिल्ला नगरबाट उपाध्यक्ष लड्ने मनस्थिति बनाएका छन् । तिवारी भने निर्वाचन लड्ने सम्भावना बलियो देखिन्छ ।

अहिलेसम्म स्थिति हेर्दा प्रधानलाई पूर्व अध्यक्ष पशुपति मुरारकाको समर्थन छ भने ढकाललाई पूर्वअध्यक्ष चण्डी ढकालको समर्थन हुने छ । पूर्वअध्यक्ष कुशकुमार जोशीको समर्थन प्रधानलाई हुने छ । अहिलेको अध्यक्ष भवानी राणाको समर्थन भने ढकालले पाउने सम्भावना बलियो छ ।

बरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सर्वसहमतिको प्रयास पनि गरिरहेका छन् ।


पुष्प दुलाल