पानीजहाज चलाउने लक्ष्यसहित सरकारले सुनकोसीमा २ ठूला जलविद्युत् आयोजना बनाउँदै



काठमाडौं । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सरकारले रामेछाप र काभ्रेको सीमानामा पर्ने करिब २ हजार मेगावाट क्षमताका २ आयोजना अगाडि बढाउने भएको छ ।

उर्जा सुरक्षाका लागि ठूला आयोजना जरुरी भएको निश्कर्षसहित सुनकोसी–२ र सुनकोसी–३ आयोजना निर्माणका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्रोतको व्यवस्था गरिदिन अर्थमन्त्रालयसँग यसअघि नै आग्रह गरिसकेको छ ।

मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको छ ।

उर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्वपूर्ण आधारका रुपमा उल्लेख गर्दै सरकारले ती आयोजनालाई बहुउद्देश्यीय बनाउने तयारी समेत गरेको छ ।

माथिल्लो तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल बाँध भारतको कलकत्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने सरकारको बुझाइ छ ।

‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो बाँध बन्छ । त्यसलाई भारतको कलकत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ,’ उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भने ।

मन्त्री पुनले त्यसो भयो भने हामी समुन्द्रमार्फत् अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न सकिने बताए ।

सुनकोसी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न मन्त्री पुनले आग्रह गरे ।

आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले बताए ।

सुनकोसी–२ र सुनकोसी ३ बन्दा सरकारले त्यसरी नै उचित मुआब्जा दिन्छ, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने पुनको भनाइ छ । सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिनेछ । साथै सुनकोसी–२ को अध्ययनको काम जारी छ ।

सुनकोसी–२ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रुपले केही महंगो पर्न सक्ने मन्त्री पुनले स्पष्ट पारे ।

‘सुनकोसी–२ मा धेरै बस्ती र त्यसमा पनि बजार क्षेत्र पर्छ । त्यसकारण सुनकोसी–३ भन्दा केही महंगो पर्न जान्छ’, ‘मन्त्री पुनले भने ‘लगानीभन्दा कम प्रतिफल आउने र घाटा हुने अवस्थामा सरकारले लगानी गर्दैन, तर, मुलुकलाई र स्थानीयलाई पनि फाइदा हुने देखियो भने प्रधानमन्त्री र शीर्ष नेतृत्वसमेत बसेर त्यसबारे निर्णय हुन्छ ।’

सुनकोसी–३ बारे बाँधस्थल लुभुघाट र सुनकोसी–२ का विषयमा सिन्धुली र रामेछापको सीमानामा पर्ने सिन्धुलीको फिकल गाउँपालिका च्याखुटारमा स्थानीयसँग मन्त्री पुनले छुट्टाछुट्टै अन्तरक्रिया समेत गरेका थिए ।

सुनकोसी– ३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग ( जाइका) सन् १९८५ मै गरेको थियो । अध्ययनले सुनकोसी–३ का लागि साविकको मदनकुडारी गाविसको पार्सेल नजिकैबाट १ सय ४० मिटरको बाँध बनाएर ५३६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने औंल्याएको थियो ।

तर विद्युत् विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोसी–३ बाट ६४० मेगावाट विद्युत उत्पादन हुन सक्ने देखिएको छ । परामर्श दाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेशन, डिजाइन एण्ड सिसर्च इन्ष्टिच्युट (सीआइडीआरआई) र नेपालको इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालिमार्फत् २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ ।

विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले आगामी मंसिरसम्ममा अध्ययन सकिने जानकारी दिए । अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत उत्पादन हुन सक्ने देखाएको छ ।

त्यसबाट वार्षिक विद्युत उत्पादन वार्षिक २.४ अर्ब यूनिट हुने सिंहले बताए । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (इआइए) समेत शुरु भइसकेको छ ।

सुनकोसी–३ को बाँधस्थल काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुन्छ । १ सय ६६ सय मिटर उचाइ र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ । जलासय करिब ३० किलोमिटर लामो निर्माण हुन्छ ।

आयोजनको विद्युत गृह काभ्रेको तिमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ । आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुन्छ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्छ ।

सुनकोसी–२ को जडित क्षमता ९५० मेगावाट हो । उक्त आयोजानबाट सन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्णरुपमा डुबानमा पर्छ । बाँधस्थल सिन्धुली र रामेछापको सीमानामा पर्ने पुडुलेमा रहनेछ । गजबाट करिब १ सय ६० मिटर उचाई र ४ सय ५० मिटर लम्बाइको बाँध निर्माण हुने आयोजनाले जनाएको छ ।

जलाशयको लम्बाइ ५३ किलोमिटर लामो । यस्तै ११ सय मिटरको सुरुङ निर्माण गरी च्याखुटारमा विद्युतगृह हुनेछ । जलाशयको क्षेत्र घर, बस्ती र खोला बगर गरेर ६ हजार ३ सय हेक्टर हुनेछ ।


क्लिकमान्डु