साढे ४८ अर्ब पुँजी संकलन गरेका बीमा कम्पनीको बीमा शुल्क आर्जन कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीको एकीकृत पुँजी ४८ अर्ब ५२ करोड रुपैयाँ छ । जसमा जीवन बीमा कम्पनीको ३२ अर्ब ५५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले ६० अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन (प्रिमीयम संकलन) गरेका छन् । जसमा जीवन बीमा कम्पनीले ४६ अर्ब ८८ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १३ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

समितिका अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्क १५ अर्ब २९ करोड रुपैयाँ, नविकरण बीमा शुल्क ३० अर्ब ९९ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमा शुल्क १ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेका छन् ।

पुस मसान्तसम्म जम्मा जीवन बीमालेख संख्या ६८ लाख ४३ हजार ७०९ वटा छ । जसमा जीवन बीमालेख संख्या ६० लाख २१ हजार ५६२ रहेको छ भने वैदेशिक रोजगार बीमालेख संख्या ८ लाख २२ हजार १४७ रहेको छ ।

हाल जीवन बीमा क्षेत्रमा ५ हजार ४३१ जना कर्मचारी रहेको छन् भने ती बीमा कम्पनीको कार्यालय संख्या १ हजार ८०७ रहेको छ ।

यता निर्जीवन बीमा कम्पनीमा पनि ४ हजार ८७७ जना कर्मचारी कार्यरत रहेका छन । ती बीमा कम्पनीको कार्यालय संख्या ८७७ छ ।


क्लिकमान्डु