नेपाली विद्यार्थीको समाचारमा इक्यानको चासो, अष्ट्रेलियाले भन्यो- त्यस्ता समाचारको समर्थन गर्दैनाैं
काठमाडौं । केही समयअघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले अष्ट्रेलियन सरकारी अधिकारीसँग चासो व्यक्त गरेको छ ।
गत शुक्रबार इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वड, अष्ट्रेलियन शिक्षा विभागका प्रथम सचिव ल्यान्डल कोर्वेट र अष्ट्रेलियन हाइकमिसनका नयाँदिल्लीका अधिकारी केइटलिन म्याकफेर्सनबीच भेट भएको थियो ।
जसमा इक्यान अध्यक्ष पाण्डेले अष्ट्रेलियाका सञ्चारमाध्यममा प्रकाशित नेपाली विद्यार्थी गरिब भएको र अष्ट्रेलियामा उच्च शिक्षा आर्जन गर्न नसक्ने सम्बन्धि समाचारमा सरकारको आधिकारिक धारणा माग गरेका थिए ।
पाण्डेको जवाफ दिँदै राजदूत वडले प्रकाशित समाचारमा उल्लेख भएको विषय सरकारको आधिकारिक धारणा नभएको भन्दै स्पष्ट पारेका थिए । राजदूत वड तथा अन्य अधिकारीहरुले अष्ट्रेलिया नेपाल र नेपाली विद्यार्थीको प्रसंशा गर्दै अष्ट्रेलियन सरकार सकारात्मक रहेको बताएका थिए ।
‘अष्ट्रेलियन सरकार त्यस्ता समाचारमा प्रकाशित विचारलाई समर्थन गर्दैन, नेपाली विद्यार्थीहरुबारे नजिकबाट अनुगमन गरिरहेका छौं,’ भेटमा अधिकारीहरुले बताएका थिए ।
अध्यक्ष पाण्डे नेपालीको प्रतिव्यक्ति आय विकसित देशको तुलनामा कम भए पनि सबै नेपाली गरिब नभएको बताउँदै आर्थिक रुपमा धेरै परिवार सक्षम रहेको बताए । जसले आफ्ना सन्तानका लागि अनतर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त विश्वविद्यालय वा कलेजमा पढाउन सक्छन् ।
‘पछिल्लो समय नेपालबाट गएका विद्यार्थीहरु जुनसुकै तहमा सक्षम रहेको उल्लेख गर्दै उनले आर्थिक, शैक्षिक र भाषागत रुपमा सक्षमताको प्रमाणपत्र बुझाएर मात्रै अष्ट्रेलिया गएका हुन्, त्यसैले कुनै तथ्य बिना त्यस्ता समाचार प्रकाशित हुनु गलत हो,’ उनले भने ।
उनले अष्ट्रेलियन सरकारले उपलब्ध गराएको शिक्षा अन्तर्राष्ट्रिय स्तरमा निकै राम्रो रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीको लगानी र ज्यानको सुरक्षाका कारणले अष्ट्रेलिया गएको बताए ।
‘नेपालबाट अत्यन्तै थोरै मात्रामा विद्यार्थी अध्ययन गर्न जाने अष्ट्रेलियाका एएनयू र सिड्नी विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकसँग नेपाली विद्यार्थीको सामिप्यता, सम्बन्ध र सम्पर्क निकै कम छ, उनले भने, ‘उहाँहरुले नेपाली विद्यार्थीहरुप्रतिको धारणा जसरी प्रस्तुत गर्नु भयो त्यो समय र परिस्थित अनुकुल छैन । त्यो सबै हिसाबले जायज पनि छैन ।’